भारतीय तरकारीबारीबाट लाभ लिइरहेका रोल्पाली दंग

भारतीय तरकारीबारीबाट लाभ लिइरहेका रोल्पाली दंग

हिमाचलको चिसो सिरेटो र बर्खे झरीसँगै तरकारी बारीमा भेटिन्छिन्, ४६ वर्षीया गीतादेवी । मजदुरीका लागि रोल्पाबाट तीन वर्षअघि श्रीमान रिमबहादुरसँगै भारतको पहाडी उपत्यका उदयपुर आएकी उनी आजभोलि खेतबारीमा खटिइरहेकी छन् ।

‘कोरोना महामारीअघि श्रीमान साहुजनको स्याउबारीमा काम गर्नुहुन्थ्यो । मैले पनि साहुको घरमा काम गर्थें । चारैतिर कोरोना फैलिएपछि मजदुरी गर्न सकेनौं, गीतादेवीले भनिन्,’ ‘एकदिन मैले जग्गा भाडामा लिएर तरकारी खेती गर्ने सल्लाह गरेँ । श्रीमान पनि राजी हुनुभयो । मलाई खेतबारीमा काम गर्न धेरै मनपर्छ ।’

गीतादेवी तरकारी हुर्काउँदै बारीमा रमाउन थालेको ठ्याक्कै तीन वर्ष भयो । एकाबिहानै तरकारी गोडमेल गर्न खेतमा जान्छिन्, उनी । दिउँसो टिपेर बोरामा थन्क्याउँछिन् । बेलुकी डेराछेउको तरकारी बजारमा पु¥याउँछिन् ।

‘उदयपुर रोल्पाजस्तै लाग्छ । हावा–पानी पनि राम्रो छ । बारीमा राम्रो दुःख गरेपछि तरकारी पनि राम्रै फल्छ । हाम्रो तरकारी बजारमा पुर्याउनै पर्दैन, छिमेकीहरू किन्छन्,’ तरकारी बारीमा काम गरिरहेकी उनले बताइन् ।

प्राकृतिक सौन्दर्यता, तरकारी खेती र स्याउ उत्पादनका लागि किन्नौर, कुल्लू–मनाली, शिमला, कोक्सार, उना, उदयपुर क्षेत्र प्रसिद्ध मानिन्छन् । यी ठाउँमा बसोबास गर्ने नेपाली मजदुरहरू पछिल्लो समय प्राकृतिक खेतीतर्फ आकर्षित भएका छन् ।

हिमाचलका महिला मजदुरको तरकारी खेतीले नेपाली समाजमा आत्मविश्वास जगाइरहेको नेपालीमूलकी युवती गंगाशरणी विष्ट बताउँछिन् । ‘लोग्ने मान्छेको साथ लागेर यहाँ आएका हाम्रा नेपाली दिदीबहिनीहरू पहिले–पहिले घरभित्रै बस्थे । भारी बोक्ने काम गर्थे । त्यो काम राम्रो थिएन । तर उनीहरू खेतीमा संलग्न भएपछि मलाई राम्रो लागेको छ । आम्दानी पनि राम्रै गरिरहेका छन्,’ उनले भनिन् ।

५८ वर्षीया गंगाबहादुर थापा (दैलेख) ले कुल्लू–मनालीको मलिलो माटोमा बन्दा, मूला, धनिया, आलु, मटर, गाजर, लौका फलाएका छन् । हिमाचलको पहाडी भेगमा आफ्नो उर्जाशील समय भारी बोकेरै बिताएका उनी आजभोलि बारीमा तरकारीसँग खेल्छन् ।

छोराछोरीहरू आ–आफ्नो पेशामा लागिसकेपछि दंग छन्, गंगाबहादुर । ‘पहाडमा भारी बोकी–बोकी बच्चाबच्ची ठुल्ठूला बनायौं । उनीहरू आ–आफ्नो काममा लागेका छन् । अहिले बूढाबूढी छौं । तरकारी फलाउँछौं,’ उनले भने ।

उनी कुल्लू–मनाली आएको चार दशकभन्दा बढी भयो । श्रीमती लिला पनि तरकारी खेतीमै रमाइरहेकी छन् । गंगाबहादुर र लिलाका तीन सन्तान छन् । जेठा छोरा शिमलामा जागिरे छन्। छोरी मुम्बईमा छिन् । अर्का छोराले कुल्लूमा कृषि विज्ञान नै पढिरहेका छन् । नेपाली मजदुरहरू कुल्लू–मनालीका मुख्य सहर–बजारमा कोरोनाअघि ज्यादै भेटिन्थे । तर महामारीपछि कमै देखिएका छन् ।

कतिपय नेपाली मजदुरी गर्नुको सट्टा जग्गा भाडामा लिएर आफैंले तरकारी खेती गरिरहेका छन् । उनीहरू आ–आफ्नो बारीमा बन्दा, काउली, मटर, मुला, सिमी, लौका, फर्सी र आलु फलाउँछन् । हिमाचलमा तरकारी खेती आम्दानीको राम्रो स्रोत बनेको उनीहरू बताउँछन् ।

कुल्लू–मनालीदेखि उदयपुरसम्म नेपाली नै नेपाली भेटिन्छन् । उनीहरू जताततै नेपालका डाँडापाखा बिर्साउने गरी तरकारी खेतीमा खटिएका छन् । कतिपय नेपाली मजदुरहरूले स्याउ, बदाम, अंगुर र ओखरजस्ता दिगो खेती पनि गरिरहेका छन् । उनीहरू पूर्णरुपमा पहाडी क्षेत्रमा रमाइरहेका छन् ।

नेपाली कृषकको तरकारी उब्जनीले यहाँको बजारमा ताजा तरकारीको ओइरो छ । कुल्लू–मनालीका नेपाली तथा गोर्खाहरूले वर्षेनी करोडौंको तरकारी व्यापार गर्दैआएको स्थानीय पत्रकार राजिवकुमार बताउँछन् ।

काम खोज्दै भारतीय उच्च हिमाली राज्य धाएका कैयौं नेपाली मजदुरहरूले विस्तारै–विस्तारै जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । उनीहरू स्याउको सिजनमा स्याउ टिप्छन्। त्यसअघि अधिकांश नेपालीहरू उत्पादनमा लागेका छन् । तरकारीले राम्रो आम्दानी थपिरहेको छ ।

शिमला, कुल्लू–मनाली, उदयपुरका विभिन्न गाउँ–ठाउँमा थुप्रै नेपालीहरू स्याउ सिजनको उपयोग गर्छन्। उनीहरूले ज्याला गरेर पनि राम्रो कमाइ गरेका छन् । थप चासो बढ्दै गएपछि अहिले नेपाली मजदुरले तरकारी खेती गर्न एक वर्षयता कुल्लू–मनालीका स्थानीयवासीसँग सम्पर्क बढाएको स्थानीय धीरेन्द्र कोलीले बताएका छन् ।

हिमाचलका विभिन्न उपत्यकामा तरकारी उत्पादनमा रुचि बढ्दै गएपछि अहिले जग्गा भाडा पनि महँगो हुँदै गएको छ । नेपालीमूलका ६३ वर्षीय आत्मरामले ४ वर्षदेखि अर्गानिक विधि प्रयोग गरेर प्राकृतिक खेती गरिरहेका छन् ।

आत्मारामले आफ्नो बारीमा भेँडा–बाख्राको मल हाल्छन् । तर विषादी प्रयोग गर्दैनन् । कोक्सारका नेपाली कृषक छेञ्जा लामा र गोविन्द थापाले लाहौल उपत्यकामा ६ वर्षदेखि स्याउ, चेरी र विशाल फाँटमा तरकारी खेती गर्दैआएका छन् । उनीहरूको बारीमा लटरम्म चेरी पनि फलेको छ । दिउँसोतिर चेरी टिप्दै गर्दा भेटिन्छन्, कतिपय नेपाली ।

‘हाम्रो लक्ष्य ठूलो छ । नेपालबाट आएका दाजु–भाइहरूलाई पनि खेतबारीमा काम दिन सक्नेगरी खेती गर्दैछौं । अहिले हाम्रो खेती राम्रो भइरहेको छ,’ साहुजनको स्याउखेती छोडेर तरकारी खेतीमा लागेका गोविन्द थापा भन्छन् ।

कुल्लू–मनालीदेखि कोक्सार, सिसु र केलोङ, उदयपुरसम्म आवतजावत गर्न पहिलेभन्दा सहज छ । सुरुङमार्ग बनेपछि लाहौलबाट ठाउँ–ठाउँमा तरकारी पु¥याउँछन्, नेपाली कृषक । तरकारी उत्पादनबाट राम्रो आम्दानी गरिरहेको उनीहरू बताउँछन् ।

टिप्पणीहरू