सवारी साधनको ठक्करबाट मारिएकाको परिवारले प्रहरी वृत्त घेर्ने

सवारी साधनको ठक्करबाट मारिएकाको परिवारले प्रहरी वृत्त घेर्ने

थोलेदेम्बा शेर्पा किदुक परिवारले भोलि महानगरीय प्रहरी वृत्त बौद्ध घेर्ने भएको छ । बसको ठक्करबाट परिवारका सदस्यको मृत्यु भएको र त्यसवापत उचित क्षतिपूर्ति रकम नपाएको भन्दै भोलि बिहान १० बजे प्रहरी वृत्त घेराउ गर्न लागिएको हो ।

गत सोमबार गोकर्णेश्वर नगरपालिका–८ स्थित छहारी क्लब नजिकै बा.३ ख ५४३३ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक आङफुटी शेर्पाको ज्यान गएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनकी दुई वर्षीया छोरीको नेपाल मेडिकल कलेजको आइसीयूमा उपचार भइरहेको छ ।

क्षतिपूर्तिको विषयलाई लिएर तीन दिनदेखि लगातार वार्ता भए पनि कुरा नमिलेपछि किदुक परिवार आन्दोलनमा उत्रिने निर्णयमा पुगेको हो । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेले भने नियमभन्दा बढी क्षतिपूर्ति मागेकाले कुरा नमिलेको बताए ।

क्षतिपूर्ति प्रावधानमा साढे पाँच लाख उल्लेख भएपनि पीडित पक्षले ८५ लाख रुपैयाँ माग गरेको उनको भनाइ छ । बस समितिले साढे पाँच लाखभन्दा बढी रकम नदिने ढिपी कसेपछि वार्ता मिलाउन अप्ठ्यारो भएको उनले बताए ।

प्रहरीले सवारी चालकलाई नियन्त्रणमा लिइसकेको छ । सवारी ज्यान मुद्दामा सजाय प्रक्रिया अघि बढाइएको प्रहरीको दाबी छ ।

टिप्पणीहरू