क्याम्पसमा खोल्ने र बन्द गर्नेबीच तछाँडमछाड
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुनः ताल्चा लगाएको छ । लामो समयदेखि गरिएको तालाबन्दी हिजो नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले तोडेपछि नेविसंघ आज फेरि त्यहाँ ताल्चा लगाउन पुगेको हो ।
नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले विज्ञप्ति जारी गरी ताला लगाएको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय पदाधिकारीबाट वार्ता र संवादको ढोका बन्द गरी लाखौं रुपैयाँ घुसपैठ गरी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी) मध्ये केन्द्रीय कमाण्डको लेटर प्याडमा इञ्चार्ज सफलको हस्ताक्षरसहित नक्कली विज्ञप्ति टाँस गरी नेविसंघले लगाएका ताला फुटाउने कु–चेष्टा गर्नु आफैंमा खेदजनक छ ।’
कार्यालयमा तालाबन्दी यथावत रहेको जानकारी दिँदै अन्यथा नेविसंघ सशक्त प्रतिकारमा उत्रने र उत्पन्न परिस्थितिको जिम्मेवारी उपकुलपति कार्यलयले लिनुपर्ने चेतावनी विज्ञप्तिमा उल्लेख छ । आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ गतेदेखि लगाएको ताल्चा हिजो नेपाल कम्प्युनिष्ट पार्टी (क्रान्तिकारी) का कार्यकर्ताले खोलेका थिए । पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज सफलले ताल्चा तोडेर त्यहिँ विज्ञप्ति टाँसेर छाडेका थिए ।
टिप्पणीहरू