आकाशमा उड्दै गरेको बुद्ध एअरबाट खसेको डल्लो के थियो ?
नेपाली आकाश निकै असुरक्षित भनेर पश्चिमा र विकसित देशका सञ्चार माध्यमहरुले बेला बेलामा खोइरो खन्ने गरेका छन् । उनीहरुको खोइरोलाई बल मिल्ने गरी हाम्रा वायुसेवा कम्पनी,तिनका विमान र उडानमा संलग्न कर्मचारी र प्राविधिकहरुको क्रियाकलाप बेला बेलामा बाहिरिने गरेको छ ।
आइतबार पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको विमान दुर्घटनामा २२ जनाको ज्यान गएको घटनालगत्तै हिजो बुद्ध एअरको एउटा विमान आकाशमा उडिरहेको बेला खसेको डल्लोबारे निकै चर्चा भयो । काठमाडौंबाट भद्रपुरतर्फ गइरहेको एटीआर ७२ विमानको तल्लो भागबाट ठूलो डल्लो भुईंतिर झरेको देखिएपछि त्यसलाई काठमाडौं फर्काइएको थियो ।
आकस्मिक अवतरणको निम्ति काठमाडौं विमानस्थल तुलनात्मक रुपमा निकै सुरक्षित भएकाले विमानलाई रिटर्न गराइएको विमान कम्पनी स्रोतले बताएको छ । ६९ जना यात्रु बोकेको विमानको तल्लो भागबाट खसेको कालो वस्तु चाहिँ के थियो त ? जनआस्थाको जिज्ञासामा स्रोतले भन्यो,‘विमानको रिसोलिङ गरिएको टायरको बाहिरको भाग चोइटिएर झरेको हो ।’
काठमाडौंबाट फेरि यात्रुहरुलाई अर्को विमानमा राखेर भद्रपुर लगिएको थियो । बस,ट्रक वा अन्य सवारी साधनमा झैँ विमानको टायरमा पनि त्यसरी रिसोलिङ गर्न मिल्छ ? भनेर नेपाल नागरिक उड्डयन प्राधिकरणका एक जना प्राविधिकसँग जिज्ञासा राख्दा त्यो गर्न पाइने व्यवस्था रहेको बताए । उनले भने, ‘गर्न त पाइन्छ,तर कति पटक भन्ने कानुनी व्यवस्था छ ।’
टिप्पणीहरू