नायिका मिरुनाले देखाएको आँटको खण्डनै खण्डन

नायिका मिरुनाले देखाएको आँटको खण्डनै खण्डन

एकछिन अघि मात्र सामाजिक सञ्जालमा पोस्ट भएको एउटा भिडियोले धेरैको ध्यान खिच्यो । जम्फेल थुप्टेनको अकाउन्टमा पोस्ट भएको उक्त भिडियोमा बुद्ध भिक्षु फुर्बा लामासंग संवाद गरिएको छ ।

सो भिडियो सुनेर कतिका आँखा रसाए, कतिले नायिका मिरुना मगरलाई सक्दो गाली गरे । आफूलाई पटकपटक पिठ्युँमा छोएको आरोप लगाएकी नायिकाको हर्कत देखेर एकछिन त देख्ने जतिको रगत पनि तातियो होला । सार्वजनिक स्थलमै थप्पड हानेकी नायिकाको विरोधमा सामाजिक सञ्जालमा आम नागरिकहरु खनिएका छन् ।

गत जेठ १५ गते फिल्म हेर्न सिभिल मल पुगेका लामालाई नायिकाले भलिभाँती सुनाएकी थिइन् । नेपाली राम्रोसंग नजान्ने लामाले माफी माग्दामाग्दै पनि नायिकाले प्रहरीकोमा जिम्मा लगाइन् । निर्दोष व्यक्तिमाथि गरिएको व्यवहारको विरोधमा सामाजिक सञ्जालमा नायिकाको खोइरो खन्नेहरुको ओइरो लाग्यो ।

सो घटनापछि दर्शकले रुचाएको कबड्डी ४ को पोस्टरहरु फाड्ने र जलाउने क्रम शुरु भयो । सिनेमा हल घेराउ गरियो । नायिका प्रकरणले फिल्म बहिष्कार गर्ने ट्रेण्ड नै चल्यो । यसविषयमा तकवितर्क शुरु भयो । मुलुकको हरेक कुनाबाट लामाको पक्षमा आवाज उठ्यो । अरुको गालामा हानेको थप्पड आखिर नायिकाकै गालामा बज्यो । जति नै दाबी गरेपनि अन्ततः नायिकाले पछि हट्नैपर्यो ।

हालैमात्र सार्वजनिक भिडियोमा धर्मगुरु लामाले यथार्थ खुलाएका छन् । उनले आफूले नायिकालाई नछोएको बताएका छन् । फिल्म हेरेर बाहिर निस्कँदा सेलिबृटीहरु त्यहीँ देखेकाले आफूलाई फोटो खिच्न मन लागेको उनले भिडियोमा भनेका छन् ।

‘त्यतिखेर एकदमै भीड थियो’,उनले भने ‘फोटो खिच्ने क्रममा एक्कासी चड्काइन्’ । आफूले माफी माग्दामाग्दै पनि प्रहरीलाई बुझाएको लामा बताउँछन् । ‘प्रहरीले समातेर लगेपछि भित्रभित्रै कामेको थिएँ, अब के हुन्छ होला भन्ने डर लागिरहेको थियो’ उनले भने ।

महानगरीय प्रहरी वृत्त, जनसेवामा रहँदा सोही फिल्मका कलाकारहरु भेट्न आएको उनी बताउँछन् । धर्म गुरु लामाको गल्ती नभइकन अरुले गल्ती गरेको थाहा पाएपछि नायिका मगरले मेरो करियर ड्यामेज हुन्छ भन्ने रोइकराइ गरेको भिडियो संवादमा उल्लेख छ ।

नायिकाले आफू बदनाम हुने देखेपछि आँशु बगाउँदै तपाईको गल्ती हो भनी स्वीकार्न लगाएको लामाको दाबी छ । उनले भनेपछि कागजमा हस्ताक्षर गर्न तयार भएको हुँ,उनी भन्छन् ।

तर,कागजमा के लेखिएको थियो यसबारे उनलाई अत्तोपत्तो छैन । किनकि लामालाई नेपाली भाषा पढ्न आउँदैन । नायिका लामाको करियरको निम्ति आफू दोषी बनेको उक्त भिडियोमा देखिएको छ ।

नायिकाले हस्ताक्षर गरेको कागजातमा भाइ सम्झेर माफ दिएको उल्लेख छ । तर, वास्तविकता भने अर्कै रहेछ । नायिका मिरुनाले आफ्नो करियर जोगाउनका लागि अरुको जिन्दगी दाउमा राख्न गरेको भनिएको अाँटको अहिले सर्वत्र खण्डन भइरहेको छ ।

यो संवादपछि धेरैले लामाको पक्षमा आवाज उठाएका छन् । सोझो, इमान्दार भन्दैमा अत्याचार गरिएको कतिपयको ठहर छ । नायिकालाई सार्वजनिक स्थलमा माफी माग्न लगाउनुपर्छ भन्नेहरु पनि उत्तिकै देखिएका छन् ।

टिप्पणीहरू