कालो अक्षर भैंसी बराबरहरुको औंला स्मार्ट मोबाइलमा

कालो अक्षर भैंसी बराबरहरुको औंला स्मार्ट मोबाइलमा

-आषिका लम्साल

विराटनगर ४ की ५५ वर्षीया लक्ष्मी विश्वकर्माको निम्ति यसअघि ‘कखग’ र ‘एबिसिडी’ भनेको कालो अक्षर भैंसी बराबर थियो । उनलाई सामान्य जोडघटाउन पनि गर्न आउँदैनथ्यो । तर अहिले उनै लक्ष्मी नेपाली र अंग्रेजीका सग्ला अक्षर पढ्न र अंकअनुसार समान्य जोड घटाउ गर्नसक्ने मात्र भएकी छैनन् स्मार्ट मोबाइलमा भिडियो कल गर्नसक्ने भएकी छन् ।

अर्की बालकुमारी निरौला पनि विदेशमा बस्ने आफना छोराबुहारी र नातिनातिनासँग आफैँ मोबाइल चलाएर प्रत्यक्ष कुराकानी गर्न पाउँदा मख्ख छिन् । ६० वर्षीया यशोदा दाहाल आफूमा आएको परिवर्तन देखेर आफैँ मख्ख छिन् । उनले बुढेसकालमा अक्षर चिनेर फरर पढ्न सक्ने र आफैं मोबाइल चलाएर आफन्तसँग प्रत्यक्ष कुराकानी आदानप्रदान गर्न सक्ने सपनामा पनि चिताएकी थिइनन् ।

लक्ष्मीदेवी, बालकुमारी र यशोदाहरु मात्र होइन उनीहरुजस्तै हिजोआज विराटनगर ४ का ४० जना ५५ वर्ष नाघेका र ज्येष्ठ नागरिकहरु आफूहरुमा आएको परिवर्तन देखेर आफैं मख्ख छन् ।

पढ्न लेख्न साक्षर बनाएर मोबाइल प्रविधिसँग पनि प्रत्यक्ष जानकार हुने सक्ने क्षमता भने उनीहरुमा आफैं प्राप्त भएको होइन । स्वर्गीय भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले विराटनगर ४ मा सञ्चालन गरिरहेको ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षाको कक्षाबाट प्राप्त भएको हो ।

यो गर्मीमा पनि दैनिक ४० जना ५५ देखि ७० वर्षसम्मका ज्येष्ठ नागरिकहरु दिनहुँ दिउँसो भेला भएर दुईदेखि तीन घण्टा पढ्ने गर्छन् । तीन महिनादेखि सञ्चालन भइरहेको प्रविधिकमूलक साक्षरता कक्षालाई एक वर्षसम्म सञ्चालन गरेर ज्येष्ठ नागरिकहरुलाई नेपाली र अँग्रेजीमा साक्षर बनाउने योजना राखिएको हो ।

मोबाइल र इन्टरनेट प्रविधिबारे आवश्यक शीप सिकाउने तथा बुझाउने योजना रहेको शिक्षिका शिखा भट्टराईले बताइन् । उनका अनुसार अक्षर र सूचनाप्रविधिसँगै विभिन्न दिवस र ज्येष्ठ नागरिकका हक अधिकारसहित आत्मसम्मान र सुरक्षाबारेका व्यवहारिक ज्ञानहरु पनि उनीहरुलाई बुझाउने गरिएको छ ।

अक्षर र अंकसँगै प्रविधिबारे पनि निरक्षर प्रौढहरुलाई जानकारी गराउन लागिएको हो । अरुले उनीहरुलाई ठग्न, झुक्याउन नसकुन र दैनिक जीवनमा आइपर्ने हिँडडुल तथा किनमेलदेखि मोबाइलमा कुराकानी र फोटाहरु आदानप्रदान गरेर दैनिक जीवन सहज बनाउन सकुन भनेर एक वर्षे आधारभूत साक्षरता कार्यक्रम सञ्चालन गरिएको फाउण्डेसन प्रदेश १ का सचिव कोषराज न्यौपानेले बताए ।

त्यसका लागि फाउण्डेसनले दुई जना तालिमप्राप्त शिक्षक नियुक्त गरेको छ । हाल विराटनगर ४ शान्ति चोकको राममन्दिरमा तालिमप्राप्त मुना चौधरी र शिखा भट्टराई दुई जना शिक्षिकाले उनीहरुलाई सिकाइरहेका छन् । शिक्षिकाहरुका अनुसार हिजोआज दिउँसो १ बजेखि ३ बजेसम्म दिनहुँ ५५ देखि ७० वर्षका महिला पुरुषहरु दैनिक झोला बोकेर पढ्न आउने गरेका छन् । उनीहरुलाई आवश्यक शैक्षिक सामग्रीसहितको झोला पनि फाउण्डेसनले नै उपलब्ध गराएको छ । क्रमशः उनीरुलाई एक जोर लुगा र मोबाइल पनि प्रदान गर्ने योजना रहेको छ ।

कक्षामा पढ्न आउन थालेपछि ज्येष्ठ नागरिकहरुमा सामूहिक भावना मात्र बढेको छैन उनीहरुको आत्मबल बढेर नेतृत्व विकाससमेत हुन थालेको शिक्षिका भट्टराईको अनुभव छ । सचिव न्यौपानका अनुसार फाउण्डेसनले विराटनगर जस्तै काठमाडौंको बुङमतीमा पनि ज्येष्ठ नागकिहरुलाई अक्षर र सूचना प्रविधिबारे साक्षर बनाउन आधारभूत शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । विराटनगरमा पहिलो पटक आयोजना गरिएको एक वर्षे कार्यक्रमपछि लगत्तै अर्को स्थानमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको फाउण्डेसनले जनाएको छ ।

टिप्पणीहरू