सशस्त्रमा समलिंगी बलात्कार
‘तपाईंहरूलाई आउन मन लाग्दा आउनुभए हुन्छ, अप्ठेरो मान्नुपर्दैन !’ आफ्नो नियुक्तिपछि शुभकामना ग्रहण गर्न राष्ट्रपति निवास शीतल निवास पुग्दा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्रका राजु अर्यालसँग यसो भन्दै राष्ट्रपति विद्या भण्डारीले स्नेही व्यवहार देखाउनुभयो । आइजीद्वय नियुक्त भएको झण्डै एक महिनापछि गत शुक्रबार दिउँसो ती दुई लड्डु बोकेर गृह मन्त्रालयबाट सोझै त्यहाँ पुगेका थिए ।
प्रहरीको २९ औँ आइजीका रूपमा धीरजप्रताप र सशस्त्रमा राजुको नियुक्ति वैशाख १८ गते भएको हो । यसमध्ये धीरज राष्ट्रपतिको कार्यकाल सकिएको दुई महिनापछि, अर्थात् आउने चैत ११ गतेसम्म उक्त जिम्मेवारीमा रहन्छन् । राजुचाहिँ उमेर हद संशोधन नभए २०८३ सालसम्म रहन्छन् । किनभने, उनी ०५४ चैत १८ मा प्रहरी इन्स्पेक्टरका रूपमा भर्ना भएका हुन् । उनका व्याची दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्र भट्टहरू अहिले पनि प्रहरीमा एसपीमात्रै छन् ।
शुक्रबार लड्डु खुवाउन पुगेका आइजीद्वयलाई राष्ट्रपतिले स्थानीय निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गराएकोमा धन्यवाद दिनुभयो । ‘पहिला तीन चरणमा भएको मलाई याद छ, यसपटक तपाईंहरूको राम्रो भूमिकाका कारण एकैपटकमा भयो’, राष्ट्रपतिले भन्नुभयो । यिनै दुई आइजी त्यही दिन बिहान लड्डु बोकेरै पाँचखाल पनि पुगे । संयुक्त राष्ट्रसंघीय मिशनमा जाने सैनिकका लागि तालिम दिइने पाँचखालस्थित शिक्षालयमा उनीहरू हेलिकोप्टर चढेर पुगेका हुन् ।
अर्कातिर, नेपाल प्रहरी र सशस्त्रका अधिकृतहरूको समयमा बढुवा नहुँदा काममा असर परेको छ । प्रहरीमा १९ डिआइजी रिक्त छ । सशस्त्रमा ९ जना एसएसपी कन्फर्म हुनुपर्ने, अहिलेसम्म कामुमै अड्किएका छन् । सशस्त्रमा एसपी भएको ४ वर्षदेखि एसएसपीयोग्य हुन्छन् । बढुवा भएका दुई एआइजीले अहिलेसम्म जिम्मेवारी पाएका छैनन् । तीमध्ये नारायण पौडेल सिनियर भएका कारण प्रशासन र सीपी गौतम कार्य विभागमा जाने सम्भावना छ ।
प्रहरीमा भने एसपीबाट एसएसपी बढुवाका तीन व्याचबीच डिआइजी हुने तीव्र प्रतिस्पर्धा चलेको छ । ०७५/१०/२६ का १४, ०७७/१/९ का १९ र ०७७/९/२९ का ११ गरी ४४ जनाका बीच प्रतिस्पर्धा भइरहेको हो । उनीहरू ०५१ र ०५२ को विभिन्न मितिमा इन्स्पेक्टरबाट प्रहरीमा भर्ना भएका हुन् । अहिले बढुवा हुनेमध्ये पहिलो नम्बरको डिआइजी यही वर्षको चैत १२ गतेदेखि आइजी हुने कारण उक्त बढुवामा व्यापक चलखेल र राजनीतिक सरोकार जोडिँदा ढिलाई भएको प्रहरीस्रोतले जनाएको छ ।
उता, सशस्त्रमा घुमुवाका कारण संगठन बद्नाम हुने अवस्था भएपछि हेडक्वार्टर तानिन थालेका छन् भने हेडक्वार्टरबाट अनुगमनका लागि एसएसपी र डिआइजीहरू प्रदेश–प्रदेशमा खटिएका छन् । त्यसक्रममा एसएसपी भूपेन्द्र केसी गण्डकी र लक्ष्मणबहादुर सिंह लुम्बिनी प्रदेश पुगेका छन् । आइजीको छोटो कार्यकालमा पुष्पराम केसीले विभिन्न पहुँचवालाका घरमा खटाइएका सिपाहीहरू फिर्ता गराएका छन् । जातेजाते शैलेन्द्र खनालले काजमा विभिन्न बिओपीमा काज सरुवा गराएका इन्स्पेक्टरहरू चाहिँ फिर्ता भएका छन् ।
त्यसक्रममा घरमै भएका इन्स्पेक्टर रविन थापा पश्चिम नवलपरासीको भुजहवा नाका पुगेका थिए । तर, १२ घण्टामै तानिए । उनले त्यहाँ १२ घण्टा बस्दा एकरातमै ३५ हजार कमाएको हलचोकमा चर्चा छ । पहिला नजिकैको हरपुर नाकामा बसेका कारण पुरानो सम्पर्कबाट आतेजाते भाडा उठाउन सफल भएको भनिन्छ । त्यस्तै, कपिलवस्तुमा ध्रुव कार्की एसपी हुँदाका घुमुवा उनीसँगै सरुवा भएको जिल्ला रौतहट पुगे पनि विभिन्न अनैतिक हर्कतमा सामेल भएका कारण कानुनी कारबाहीमा पर्न लागेका छन् ।
पुस ११ गते दिउँसो सुट तस्करीमा संलग्न एक व्यक्तिलाई बोलाएर सामान कब्जा गर्नुका अतिरिक्त राति १० बजे मोटरसाइकलमा राखी कपिलवस्तु–४ छोट्की तौलिहवास्थित हुलाकी सडकको बगलमा लगेर मलद्वारमा अप्राकृतिक मैथुन गरेको, रगतपच्छे बनाएर छाडेको र उपचार नगरी काज सरुवा मिलाएर अन्त भागेको हुँदा निजलाई खोजतलास र कारबाही गराइपाउन जिल्ला प्रहरी कार्यालयमा वैशाख २३ गते उजुर परेको छ । टोपबहादुर अर्याल नामक सशस्त्रका ती घुमुवाको फोन नम्बर ९८२१४६०७६५ रहेको उजुरीमा उल्लेख छ । उजुरकर्ताले निजलाई पत्ता लगाई उपचार खर्च भराइदिनसमेत माग गरेका छन् ।
टिप्पणीहरू