बालुवाटार र खुमलटारपछि स्वयम्भू पुगे बालेन

बालुवाटार र खुमलटारपछि स्वयम्भू पुगे बालेन

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटवार्तामा व्यस्त काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई भेटेका छन् । बिहान मुख्यमन्त्री पाण्डेको निवास स्वयम्भू पुगेर भेट गरेका हुन् ।

मेयर र मुख्यमन्त्रीबीच काठमाडौं महानगरभित्र फोहरमैलाको व्यवस्थापन,सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको बताइएको छ । काठमाडौंको फोहोरमैला व्यवस्थापनको विषयलाई लिएर मेयर साहले यसअघि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई पनि भेटेका थिए । त्यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका मेयर साहले शुक्रबार प्रचण्डसँग खुमलटारमा कुराकानी गरे । त्यसअघि मतगणनाकै क्रममा बालकोट पुगेर एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग भेटेको कुरा मेयर जितिसकेपछि सार्वजनिक भएको थियो।

चुनावअघिका प्रतिवद्दता पूरा गर्न राजनीतिक वातावरण निर्माणका लागि साहले राजनीतिक भेटघाट गरेको उनका समर्थकहरुले बताएका छन् । मेयर पदको सपथ ग्रहणमै उनले महानगरको फोहोर व्यवस्थापन नहुँदासम्म विजयको खुशीयाली नमनाउने र खादा माला नलगाउने बताएका थिए । तर,त्यसअनुसार कार्यप्रगति हुन नसकेपछि स्वतन्त्रबाट जितेका साह दलको दैलो चाहार्न थालेका हुन् ।

टिप्पणीहरू