अन्तरजातीय बिहेमा बालविवाहको निहुँ
तामाङकी छोरी बिकले भगाएपछि चितवनमा लफडा भएको छ । तथाकथित दलित केटासँग आफ्नी छोरीले गरेको अन्तरजातीय बिहेलाई मान्यता नदिएर केटीका बाबुआमा अझै पनि छुटाउन लागिपरेका छन् ।
जातीय विभेद कुप्रथा हो, सामाजिक अपराध हो भन्ने कुरामा धेरै मान्छे सचेत भएर समाजमा आपसी घुलमिल बढ्दै गएको यो परिवर्तित जमानामा समेत बिकलाई ज्वाइँ नस्वीकारेर फसाउन खोजिएको छ ।
भरतपुर–६ की २१ वर्षीया सन्ध्या तामाङ र त्यहीँ नजिकका २७ वर्षीय राजेश बिकबीच दुई वर्षअगाडि नै हो बिहे भएको थियो । अहिले उनीहरूको एउटी छोरी पनि छ, ७/८ महिनाको । यद्यपि, सन्ध्याहरूले माइतीबाट हैरानी खेप्नुपरेको छ । पटक–पटक प्रहरी कार्यालय धाउनुपरेको छ ।
सन्ध्या र राजेशको प्रेम सम्बन्ध सानैदेखिको हो । पहिले पनि अझ सानै उमेरमा उनीहरू भागेका थिए । त्यतिबेला उमेर नपुगेको भनी छुटाइएको थियो । त्यसपछि राजेश रोजगारीका लागि विदेश गए पनि उनीहरू गोप्य रूपमा सम्पर्कमा रहिरहे ।
०७७ मा विदेशबाट फर्कनासाथ घर नगई राजेशले सन्ध्यालाई एयरपोर्टमै बोलाई उतैबाट भगाएर बिहे गरेको बुझिन्छ । सन्ध्या हिँडेपछि बाबुआमाले प्रहरीमा उजुर गरे । केटाकेटी अन्तअन्तै भागेर, लुकेर बस्नुप¥यो । अझै पनि आफ्नो घरमा गएर बस्ने वातावरण छैन । हाल नवलपुरको देवचुलीमा राजेश सुन पसलमा काम गर्छन्, उनीहरू उतै बसिरहेका छन् ।
जेठ ५ गते भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने क्रममा सन्ध्या र राजेशलाई पनि बोलाएर एक लाख रूपैयाँ नगदसहित सम्मान ग¥यो । त्यहीँ अन्तरजातीय विवाह गर्ने एक जोडीविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको भन्ने सुनियो ।
केटाले आफ्नी छोरीलाई अपहरण गरी लगेको भनी केटीका बाबुआमाबाट जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेको र केटाकेटी भरतपुरबाट विस्थापित हुनुपरेको सुनिएपछि हालै केही दिनअगाडि यो पंक्तिकार प्रहरी कार्यालयमा यसबारे बुझ्न गयो ।
चितवन प्रहरीको महिला तथा बालबालिका सेलकी एक कर्मचारीले रेकर्ड किताब पल्टाएर हेर्दै सन्ध्या तामाङ अपहरणमा परेको वा हराएको विषयमा कुनै जाहेरी नपरेको बताइन् । तर त्यसको भोलिपल्टै एकाएक सन्ध्या र राजेश उक्त जिल्ला प्रहरी कार्यालयमा पुग्नुप¥यो ।
सन्ध्याका आमाबाबुबाट छोरी हराएकाले खोजतलास गरिदिन भन्दै निवेदन परेको रहेछ । प्रहरीले ती आमाबाबुलाई पनि कार्यालयमा बोलाएछ । छोरी र आमाबाबुबीच प्रहरी कार्यालयमै रुवाबासी चलेछ त्यो दिन ।
प्रहरी कार्यालयबाट फर्किएलगत्तै राजेशलाई फोन सम्पर्क गर्दा सन्ध्याका आमाबाबुले ‘अब केही गर्दैनौं, आफ्नो गरेर खाओ’ भनेपछि अहिले आफूहरू भरतपुरकै घरमा जाँदै गरेको बताएका थिए ।
तर घर गएपछि राजेशलाई सन्ध्याकी आमाले काट्छु, मार्छु भन्दै धम्क्याएको एक दलित अधिकारकर्मीले बताए । त्यसपछि राजेशहरू दलदले, देवचुलीमै फर्किए । अहिले फेरि सन्ध्याको माइतीले प्रहरीमा बालविवाहको उजुरी दिएर केटालाई थुनाउने र केटीलाई छुटाउने प्रयत्न गर्दै छन् । जबकि अहिले सन्ध्या र राजेशको विवाह दर्ता भएर बच्चाको जन्मदर्तासमेत भइसकेको छ ।
यसमा आफूहरूले दलित–गैरदलित तथा जात र धर्मको कुनै कुरै नगरेको सन्ध्याका बुबा बलबहादुर तामाङको भनाइ छ । केही दिनअघि उनले भने, ‘मेरी छोरीको बालविवाह भएको हो ।
अहिले उमेर पुगेपनि बिहे गर्ने बेलामा छोरीको उमेर पुगेको थिएन । १९ वर्षको उमेरमा उसलाई भगाएर लगिएको हो । यसमा बालविवाहको कानुनअनुसार कारबाही हुनुपर्छ भन्ने मेरो कुरा हो ।’
यस विषयमा सम्पर्क राख्दा बिहे दर्ता प्रमाणित भएर आइसकेको अवस्थामा अब के गर्ने ? भनेर आफूहरूले बुझ्दै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए । उमेर नपुग्दै बिहे भए पनि पछि उमेर पुगेर विवाह दर्ता भइसकेको अवस्थामा बालविवाहमा कुनै कारबाही नहुने अधिवक्ता सूर्य बोहोरा बताउँछन् ।
– अजय गोर्खाली
टिप्पणीहरू