कठै, हतियारधारी फौजको यो रामकहानी

कठै, हतियारधारी फौजको यो रामकहानी

हतियारधारी फौजलाई व्यक्तिका अनुकूलताको निम्ति गिजोल्ने र भएको संरचनालाई भताभुंग पार्दै नियुक्ति र बढुवाको ‘टेण्डर’ नै खोल्ने खेलो अहिले पनि जारी छ । शेरबहादुर देउवा गृहमन्त्री हुनुहुँदा मोतिलाल बोहोरालाई छिटो आइजिपी बनाउनका लागि आइजी रत्नसमशेर राणालाई हर्टअट्याक हुने गरी बीचैमा घर पठाएको बाछिटाले आजसम्म नेपाल प्रहरी अस्तव्यस्त छ, सशस्त्र प्रहरीमा पनि त्यस्तै अभ्यास चलिरहेको देखिँदैछ ।

शेरबहादुर देउवासँग ‘तपाईं हुँदा पनि मेरो बढुवा हुँदैन भने राजीनामा दिन्छु’ भनेर आफ्नै पिए भानु देउवाको बहिनी ज्वाइँले घुर्की लगाएपछि प्रधानमन्त्रीले गृहमन्त्रीलाई फोन गरेर ‘ल, दीपेन्द्रको काम किन भएन ? गर्दिनु…’ भनी ठाडो आदेश दिनुभयो । गृहबाट त्यी आदेश रिले हुँदै आएपछि भर्खर थापेको फुली राखौं कि फालौं भन्ने तहको दबाबमा परेका आइजी राजु अर्यालले अन्ततः प्रकाशित सूचना नै गायव पार्नुपर्ने अवस्था आयो ।

यदि त्यो सूचना गायव नपारिएको थियो भने, सशस्त्रको सिसं १ र २ का अधिकृतहरुले समयमै कन्फर्म एसएसपी हुने र संगठन हाँक्ने अनुभव, दक्षता र क्षमताको विकास गर्ने मौका पाउँथे । तर, एउटा मान्छे नाती जर्नेल बन्न नपाउला भनेर सिंगो संगठनलाई बन्धक बनाइएको छ । सीधै प्रधानमन्त्रीबाट गृहमन्त्रीलाई फोन हनाउने सिसं २ मा भर्ना भएका इन्स्पेक्टर दीपेन्द्र कुँवर (ख) अहिले कामु एसएसपी छन् । त्यही व्याचबाट अरु ९ गरी जम्मा १० जना कामुमै छन् ।

उनलाई व्याच टपेर आइजी बन्ने गरी तयार पार्ने नियतले सूचना गायव पारिएको हो । सिसं १ का अधिकृतहरु सबै कन्फर्म एसएसपी भइसकेका छन् । उनीहरु अहिले रिक्त डिआइजीका मुख्य दावेदार हुन् । यदि त्यही ग्रुपका डिआइजीबाट आगामी आइजी भएमा उनीहरुले तीन वर्ष संगठन चलाउँछन्, तर त्यही बेला सिसं २ ले हुने मौका पाउँदा चार वर्षे आइजी हुन्छ ।

यदि आगामी आइजी १ बाट भयो भने पनि सिसं २ ले आइजी त पाउँछ, तर चार महिनाका लागि मात्रै । त्यसैले बढुवाको सूचनामा सिसं २ लाई पनि योग्य बनाउनका लागि र त्यसबाट दीपेन्द्र कुँवर (ख) मात्रै पर्ने गरी चलखेल गरिँदैछ ।

पहिल्यै व्याचको ७० नम्बरबाट तानेर ११ मा ल्याइएका थिए । अहिले त्यहाँबाट पनि अर्को व्याच टप्नुपर्ने माग उनको छ । स्टाफ कलेज गर्दा पाँच विषयमध्ये तीनमा शून्य, एउटामा पाँच र अर्कोमा सात नम्बर ल्याएका लद्दु अफिसर हुन् उनी ।

दोस्रोचोटि प्रक्रिया नपु¥याई तत्कालिन आइजी शैलेन्द्र खनालले कोर्ष गर्न पठाए । सेनामा स्टाफ कलेज जाँदा पहिला सशस्त्रमा जाँच दिएर बढी नम्बर ल्याउनुपर्छ । तर, उनका लागि प्रक्रियाहरु मिचिँदै आएको छ । पोष्टिङ हुन्छ, इन्टेलिजेन्समा तर ‘ढाड दुख्यो’ भन्दै काममा जाँदैनन् । बरु प्रधानमन्त्री कर्ण मल्लहरूलाई देखाइदिन चुनावताका डडेल्धुरा पुग्दा ड्युटी न स्युटी सीधै उतै प्रकट भएर चाकडी गरिटोपल्छन् ।

भर्खरै कामुको फुली थापेका नरेन्द्र सेनको भनाई छ– ‘जान्छ भने व्याचलाई टपेर गए हुन्थ्यो । अवधी लागेर छिटै घर जान्थ्यो’ भन्दैछन् । उनीहरु भन्छन्, ‘कि, एसएसपीबाट डिआइजी हुने तीन वर्षे नियमावली ल्याएर सबैलाई कन्फर्म गर्नुप¥यो ।’ यस्तो किन पनि भनिएको हो भने, एउटा मान्छे डिआइजी भएको एक हप्तामा डिएआइजी, अर्को हप्ता आइजी हुने रोग छ अहिले । अहिले सिंगो संगठनका लागि घाँडो बनेका दीपेन्द्रलाई पहिला शैलेन्द्रले शक्तिकेन्द्र खुशी पार्न थम्थम्याए, अहिले राजु अर्याललाई त्यही कुरा घाँडो भएको छ ।

उता, विभिन्न पोष्टिङमा एउटै मान्छेलाई अवधीभन्दा बढी राखिँदा अरु अधिकृतको बृत्ति विकासमा बाधा पुगेको छ । बर्दघाटस्थित तालिम केन्द्रमा पुरुषोत्तम थापा, नौबस्तामा कृष्णराज पाठक डेढ वर्षभन्दा बढी बसिसके । ककनीका प्रदीप पाल डिआइजी भएर गए, तर अर्को एसएसपी पठाउनुको सट्टा एसपीले कमाण्ड चलाएका छन् । पोखरा तालिम केन्द्रका कामु एसएसपी रेशम थक्सु रिटायर्ड भए ।

त्यहाँ अहिले डिएसपीले काम हेर्दै छन् । समयमा सरुवा नभएको कारण अरुलाई असर पर्ने भएको छ । कोही डेढ, दुई वर्ष कमाण्ड गर्ने, कोही जानै नपाइने कारण सशस्त्रमा समस्या आएको हो । अहिले तीन डिआइजीको कमाण्ड खालि छ । पोखरा, लामपाटनमा डिएसपीले एसएसपीको काम चलाएका छन् । संगठनमा एसएसपी टन्नै छन्, तर पठाइँदैन ।

अब डिआइजी हुनेमध्ये कृष्णराज थापाबाहेक अरुले तालिम केन्द्र हेर्नै नपाई डिआइजी हुनुपर्ने भएको छ । यदि खालि युनिटमा माघमै सिनियर एसएसपीहरु गएको भए यतिबेला उनीहरुको डिआइजी बन्ने पालो आइसक्थ्यो । गुल्म र बिओपीहरुमा पनि झण्डै २ वर्षदेखि त्यस्तै विसंगति छ, पाउनेले पाएको पायै, नपाउनेहरु हेरेको हे¥यै ।

उनीहरुको पोष्टिङ भएको असारमा दुई वर्ष पुग्छ । कसैले दुई वर्षदेखि कमाण्ड चलाएका छन्, तर काम केही भएको छैन । हेडक्वार्टरका हाकिमहरु पेट्रोल पम्पबाट बजेट फिर्ता ल्याएर खाँदैछन् । सवारी साधन, कार्यालय सञ्चालन, मर्मत सम्भारका कामहरु पनि केही भएका छैनन् ।

टिप्पणीहरू