महिलामाथिको आक्रमणको विषय चीनमा भाइरल

महिलामाथिको आक्रमणको विषय चीनमा भाइरल

चीनमा लैंगिक हिंसाको बहस गर्माएको छ । थाङ्सान सहरमा पुरुषहरूको एउटा समूहले महिलामाथि गरेको क्रुर आक्रमणको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चीनमा लैंगिक हिंसाको बहस सतहमा आएको हो ।

एउटा रेष्टुरेन्टमा एक जना पुरुषले आफ्नो हात महिलाको पछाडिको भागमा राख्दा महिलाले घचेटेपछि विवाद निम्तिएको थियो । ती व्यक्तिले महिलालाई निरन्तर हिर्काएको र पछि महिला भुईंमा ढलेको देखिन्छ । मानिसको ठूलो समूहले रेष्टुरेन्टमा सँगै खानेकुरा खान आएका ती महिलाका साथीलाई पनि कुटेको भिडियोमा देख्न सकिन्छ ।

कुटपिटका कारण गम्भीर घाइते भएका दुई महिलालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूको अवस्था स्थीर रहेको बताइएको छ । अन्य दुई महिलालाई भने सामान्य चोट लागेको छ । चीनमा भएको पछिल्लो घटनामाथि चिनियाँ सामाजिक सञ्जाल विबोमा हिजो व्यापक चर्चा भएको थियो ।

सरकारी टेलिभिनमा पनि दोषीलाई कडा सजायको माग गरिएको समाचार प्रशारण भएको छ । ‘यस्तो घटना ममाथि पनि हुन सक्छ । हामीमध्ये कसैलाई पनि हुन सक्छ’ , एक टिप्पणीकर्ताले पोष्ट गरेका छन् । उनको पोष्टमा एक लाख प्रयोगकर्ताले लाइक गरेका छन् ।

प्रहरीले घटनामा संलग्न नौ जनालाई पक्राउ गरेको जनाएको छ ।

भिडियो स्रोत: ShanghaiEye

 

टिप्पणीहरू