सिबाट एमाले नेताले जुन कुरा सिक्दै सिकेनन्

सिबाट एमाले नेताले जुन कुरा सिक्दै सिकेनन्

आफूलाई डोनाल्ड ट्रम्प, सि चिनफिङ, नरेन्द्र मोदी, भ्लादिमिर पुटिनजस्ता विश्वस्तरका नेताभन्दा पुरानो, समकालीन राजनीतिज्ञमध्ये १४ वर्ष जेल बसेको एक मात्र अनुभवी पार्टी प्रमुख र दक्ष विश्व नेता दाबी गर्नुहुन्छ, एमाले अध्यक्ष केपी शर्मा ओली । फेरि उहाँ नै के गर्नुहुन्छ भने, कार्यकर्ताहरूलाई कार्यक्रममा १ बजे बोलाउने, आफू ४ बजे पुगेर दुई घण्टा भाषण गर्ने, अरुका चाहिँ कुरै नसुन्ने ।

कर्मचारी, मानवअधिकारवादी, वकिल, प्राध्यापक, पत्रकार, मजदुर, विद्यार्थीसहित पेशाकर्मीलाई समेट्ने एमालेको उपत्यका विशेष प्रदेश कमिटी (पेशागत) का अध्यक्ष प्रेम पराजुलीसहित अस्ति सोमबार दिउँसो बागबजारको एउटा जमघटमा यस्तो चर्चा भएको हो । त्यहाँ पेशागतका जिल्ला अध्यक्ष तथा चार्टर्ड एकाउण्टेण्ट उमेश ढकाल, मजदुरका विदुर कार्की, प्रदेश कार्यालयका कविन्द्रशेखर रिमाल, उद्योग व्यवसायका चन्द्र रिजाल, वित्तीय इलाकाका अविकेशर ओली, इञ्जिनियरिङ इलाकाका सुरज लामिछाने, उद्योगका गोविन्द घिमिरेलगायत मध्यमस्तरका नेता भन्दै थिए, ‘बालेनहरूसँग प्रतिस्पर्धा गर्ने पुस्ता तयार पारिएन भने अब हाम्रो पार्टीलाई गाह्रो छ ।’

उनीहरूको भनाइ थियो, ‘बूढाहरूको कति प्रतिशत घटाउने, युवाहरूलाई कति प्रतिशत थप्ने भन्ने कुराको अब छिट्टै छिनोफानो हुनुपर्छ । कति जना विस्थापित गर्ने ? कति जनालाई स्थापित गर्ने ? भन्ने कुरा अहिल्यै टुंगो लगाएन भने संसदीय चुनावमा पनि मार खाइन्छ ।’ हुन पनि हालै सम्पन्न स्थानीय तह निर्वाचनमा दोहोरिन चाहेका धेरैजसो ‘बूढाहरू’ ले हारे, युवा जतिले दोहो¥याएर पनि जिते ।

उपत्यकाको ‘क्रोनिक’ समस्या छ, एउटै घरका मान्छे नेतृत्वमा रहिरहने । जस्तोः छुच्चो बोलिरहने स्वभावका कृष्णगोपाल श्रेष्ठको परिवारबाट विजय श्रेष्ठ, बीना श्रेष्ठ, विनोद श्रेष्ठ, जितेन्द्र श्रेष्ठ विभिन्न तहका जिम्मेवारीमा छन् । त्यसमध्ये क्षमता, निरन्तरता र योगदानले नै सही पत्नी बीना र सालो विनोद केन्द्रीय सदस्य नै भैगए ।

उनीहरूले चन्द्रागिरी नगरपालिकाको चुनावमा सूर्यको झण्डा बोकेर हिँडेको देखेपछि ‘उही मान्छे’ भनेर जनताले दिक्क माने । त्यसमाथि २७ गते भृकुटीमण्डपको अन्तिम आमसभामा आम जनतालाई १ बजे बोलाउने, अध्यक्ष ओली ४ बजे पुग्ने र दुई घण्टा भाषण गर्ने कुराले भोट बढाएन । बरु, चन्द्रगिरीमा एमाले पराजयको कारण नै त्यही भइदियो ।

आइतबारको वातावरण दिवसमा पनि यस्तै भयो । साढे १ बजे च्यासल, पार्टी अफिसमा अरुलाई निम्तो गरियो तर ओली ४ बज्न १० मीनेट बाँकी हुँदा पुग्नुभयो । बसी–बसी एकघण्टा भाषण त गर्नुभयो, आसभामा प्रयोग हुने माइकको इको साउण्डले बोलेको केही नबुझिने भयो । अनि, भएका मान्छे पनि बाहिर निस्किए । साढे १ बजेसम्म थुप्रै महिलासहित करिव तीन सय मान्छे थिए ।

प्रमुख अतिथिलाई कुर्दा कुर्दा लोत भए । र, त्यत्रोबेर कुरेर भाषण सुन्दा पनि उल्टै कम मान्छे भेला भएको भनेर अन्तिममा गाली खाए । एउटा मान्छेले साढे तीन घण्टा कुर्नु भनेको तीन सय मान्छेको ९ सय ९० घण्टाको समय बर्बाद हुनु हो ।

पेशागतका नेताहरूको ठहर छ, ‘सि चिन्फिङको पार्टीबाट प्रायोजित अनेकौँ तालिममा भाग लिएर मात्रै के गर्नु ! उनले सिकाएका अनुशासनका सूत्र पालना गरेको होइन । सि भन्छन्– पार्टी राम्रो बनाउन नेता र कार्यकर्ताको कार्यशैली तुरुन्त फेर्नुपर्छ । पार्टी र जनताबीच जीवन्त सम्बन्ध हुनुपर्छ । हरेक काम पारदर्शी र उत्तरदायी हुनुपर्छ । युवाहरूलाई अगाडि बढाउनुपर्छ ।

र, समयको ख्याल गर्नुपर्छ ।’ जसरी चीनमा उमेर पुगेका प्रधानमन्त्री लि खछ्याङलाई अब छिट्टै हटाइँदै छ । विदेश विभाग प्रमुख सोङ ताओलाई १ तारिखदेखि हटाइयो । र, युवालाई जिम्मेवारीमा ल्याइयो । ओली आफूलाई एसियाको सबभन्दा सिनियर नेता भन्ने, तर कार्यशैली उही व्यक्तिवादी प्रदर्शन गरिरहने कारण कार्यकर्ता पनि दिक्दार भएका अनेक गुनासा सुनिन थालेका छन् ।

टिप्पणीहरू