कर्णाली हुँदै श्रीमान् सीमापार

कर्णाली हुँदै श्रीमान् सीमापार

आकाशलाई बादलले ढपक्क छोपेको, झरीको मौसम छ । मुस्ताङको थासाङमा तारा एयरको जहाज दुर्घटनाको घाऊ आलो छँदै ‘श्रीमान्’ हरू सपत्नी शयरमा निस्किनुभयो, उत्तरी हिमालदेखि दक्षिणी छिमेकी भूमिसम्म ! कायममुकायम प्रधानन्यायाधीश दिपक कार्कीले वरियतामा आफूपछिका न्यायाधीश हरिकृष्ण कार्कीसमेतलाई बोकेर यस्तो शयर गर्नुभएको हो ।

उहाँहरूका पत्नी शिवु र यमुनासहित १३ जनाको टोलीले जेठ १७ गते नेपाली सेनाको एनए ०५८ अगुस्ता हेलिकोप्टरमा हुम्लाको सिमिकोटदेखि जुम्ला, डोल्पा, कालिकोट, सुर्खेत हुँदै भारतीय भूमिमा समेत पाइला हाल्न भ्यायो ।

चिनियाँ भूमिमा पर्ने विश्वप्रसिद्ध मानसरोवर हिमाललाई हेलिकोप्टरबाटै दर्शन गरेर दीपक श्रीमान् झण्डैझण्डै भारतीय शहर लखनऊ आसपास पुगी काठमाडौं फर्किनुभएको छ ।

चीनले आफ्नो देशमा विदेशीलाई प्रवेश रोक लगाएको छ, सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । यस्तो स्थितिमा असोजसम्ममात्रै पदावधी बाँकी रहेका कामु प्रधानन्यायाधीश दीपक कार्कीका लागि मानसरोवरको यात्रा फेरि फेरि सम्भव नहुन सक्थ्यो । त्यसैले हेलिकोप्टरबाटै भए पनि चित्त बुझाएर फर्किनुभएको छ ।

पहिलो भ्रमण थियो, हुम्लाको सिमिकोट । जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन भयो । त्यहाँबाट सुर्खेत झरेको टोलीले त्यहाँका न्यायाधीश राजेन्द्रप्रसाद आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेसँग भेटेर केही समय गफगाफ भयो ।

फेरि टोली उड्यो, जुम्लातिर । त्रिपुरासुन्दरी नपा १ मा ओर्लिएर बालासुन्दरी भगवतीमाईको दर्शन भयो र जिल्ला अदालतको निरीक्षण सकाई २४ कोठाको उच्च अदालत भवन उद्घाटन पनि भयो ।

त्यहाँबाट दिउँसो ४ बजेर २० मीनेट जाँदा हेलिकोप्टर उड्यो, कालिकोटतर्फ । हिमाली छटाहरूको अवलोकन गर्दै तराई झरेको उक्त टोली १९ गते नेपालगञ्जको भारतीय सीमावर्ती क्षेत्र जमुनिया नाका हुँदै युपी– २५, ४१५२ नम्बरको भारतीय गाडीमा भारततर्फ प्रवेश गरेको थियो ।

२० गते हरिकृष्ण श्रीमान् पोखरा हुँदै सेनाको हेलिकोप्टरमा फर्किनुभयो भने दीपक श्रीमान्को ५ सदस्यीय टोली भने २१ गते बेलुकी श्री एयरको उडानबाट नेपालगञ्ज हुँदै राजधानी आयोे ।

उता, भारतीय सर्वोच्च अदालतबाट अवकाश पाएका पूर्वन्यायाधीश दिपक बर्मा नेपाल आएर फर्किएका छन् । उनले भूपूप्रधानन्यायाधीश, माओवादी अध्यक्ष प्रचण्डसहितका नेतासँग भेट गरेको स्रोतले जनाएको छ ।

टिप्पणीहरू