‘ओलीलाई वरिष्ठ नेता बनाएर पुनर्गठन गर कि मर !!’

‘ओलीलाई वरिष्ठ नेता बनाएर पुनर्गठन गर कि मर !!’

स्थानीय तहको निर्वाचन परिणामपछि पनि एमालेका एकथरि नेता तथा कार्यकर्तामा मेरो गोरुको बाह्रै टक्का भन्ने बानी छुटेको देखिन्न । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रत्येक बोलीलाई ब्रम्ह वाक्य मान्नेहरुले यसबीच देखिएका कमी कमजोरी सच्चाउने र अघि बढ्नेतर्फ कुनै पहल नै नगरेको गुनासो पनि त्यहीँभित्र बढ्दो छ ।

पार्टी नेता तथा कार्यकर्ताझैँ एमाले निकट लेखक तथा विश्लेषकहरुले पनि देखेको कुरो लेख्न थालेका छन् । त्यस्तैमध्येका हुनुहुन्छ ऋषि आजाद । आजादले अध्यक्ष ओलीको अहमताको कारण एमालेले पछिल्ला दिनमा ठूलो संकट भोग्दै आएको उल्लेख गर्नुभएको छ ।

विशेषगरी पश्चिमाञ्चल र लुम्बिनी प्रदेशमा केन्द्रित राजनीतिको मिहिन ढंगले विश्लेषण गर्ने आजादले सामाजिक सञ्जालमा त्यसबारे लेखेपछि अहिले एमाले पंक्तिले निधार खुम्चाएको बताइन्छ । वामपन्थी र एमालेको आन्तरिक राजनीतिक विश्लेषणमा विशेष खुबी राख्ने बुटवल निवासी आजादले फेसबुकमा एमालेको अधोगति यात्रातर्फ संकेत गर्नुभएको हो ।

एमालेभित्रको पछिल्लो राजनीति र रणनीतिबारे उल्लेख गर्दै लेखिएको छ, ‘आफूलाई चुनौती दिने माधव नेपाल,झलनाथ खनाल, प्रचण्डहरुलाई प्रतिस्पर्धाको मैदानबाट लखेटे,अब घनश्याम भुसाललाई लखेट्ने तयारी छ । भीम रावल मूलधारबाट बाहिर फ्याँकिएका छन् । परिस्थिति गम्भीर बन्दैछ ।’

‘आफ्नो अगाडि शीर ठाडो पारेर फरक मत राख्यो कि पार्टीबाट निकालिदिने मोहनविक्रम सिंह लत्रेर प्युठान जिल्लाको दुई गाउँपालिकामा खुम्चे । ओलीमा पनि ठीक त्यही शैली देखियो ।’

आजादको विश्लेषणअनुसार अध्यक्ष ओलीले कसैले पनि फरक मत राख्न नपाउने गरी पार्टी सञ्चालन गर्न थाल्नुभएको छ । ओलीलाई उहाँले सेनाको जनरलको उपाधी दिनुभएको छ । ओली सैनिक जनरलजस्ता भएकाले पार्टीभित्र वाक स्वतन्त्रता नै नरहेको,फरक मत राखेर बाँच्न गाह्रो भएको एवम् उहाँको दासता र केन्द्रिकृत चिन्तन अबको युगमा कसैले नमान्ने ऋषिको ठहर छ ।

उहाँले लेख्नुभएको छ,‘आफ्नो अगाडि शीर ठाडो पारेर फरक मत राख्यो कि पार्टीबाट निकालिदिने मोहनविक्रम सिंह लत्रेर प्युठान जिल्लाको दुई गाउँपालिकामा खुम्चे । ओलीमा पनि ठीक त्यही शैली देखियो ।’
फेरि पनि एमालेबाट भयानक पैह्रो जाँदैछ भनेर बजारमा हल्ला चलाइएको छ । यस्तो विशाल र अनुशासित पार्टी ओलीकालमा विखण्डन हुने सम्भावना ९० प्रतिशत रहेको उहाँको स्टाटसमा उल्लेख छ ।

त्यहि सन्दर्भलाई जोडेर ऋषिले लेख्नुभएको छ,‘अब ओलीको नेतृत्व रहे यो नित्य,निरन्तर ओरालो लागिरहन्छ र दुई चार वर्षमा नराम्रो परिणाम आउँछ । ईश्वर पोखरेल, शंकर पोखरेलहरु यसमा जिम्मेवार छन् । अब एमाले सत्तामा जाने भन्ने कुरा सदाका लागि हराउँदैछ । यो कुरा मैले ओलीको उदयकालदेखि निरन्तर राख्दै आएको छु ।’

उहाँले एमाले नेताहरुलाई सुझाव पनि दिनुभएको छ । पार्टी जोगाउनको निम्ति ऋषिले ‘ओलीलाई वरिष्ठ नेता बनाएर पुनर्गठन गर कि मर !!,’भन्नुभएको छ ।

टिप्पणीहरू