मर्स्याङ्दी गाउँपालिकामा ४१ वटा ऐन, नियम र कार्यविधि लागू
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले स्थानीय तहको अधिकार उपयोग गर्दै आफ्नो आवश्यकताअनुसार ऐन, नियम तथा कार्यविधि निर्माण गरेको छ ।
गाउँपालिकाले पछिल्लो पाँच वर्षमा ४१ वटा ऐन, नियम तथा कार्यविधि तयार पारेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सबै ऐन, कार्यविधि, नियमावली तथा निर्देशिका राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा समेत ल्याइएको जानकारी दिनुभयो । आर्थिक ऐन, विनियोजन ऐन, सहकारी ऐन, कृषि व्यवसाय ऐन, प्रशासकिय कार्यविधि ऐन, आर्थिक कार्यविधी ऐन, स्थानिय शिक्षा ऐन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन, विपद जोखिम न्यूनीकरण ऐन, संस्था दर्ता ऐन, जलस्रोत उपयोगलगायत ऐन बनाएर पालिकाले कार्यान्वयन गरिसकेको जनाएको छ ।
गाउँसभा सञ्चालन, एफएम रेडियो सञ्चालन, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी, करार कर्मचारी व्यवस्थापनदेखि पालिकामा बस्ने हरेक नागरिकको दैनिकीलाई सहज बनाउनेसँग सम्बन्धित नियम कानुनको तर्जुमा गरेको हो ।
असक्त असहाय विपन्न सहायता कोष सञ्चालन कार्यविधि, घरबहाल कर व्यवस्थापन, विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन, आन्तरिक आय संकलन सम्बन्धी, टोल विकास सस्था गठन तथा परिचालन, नदीजन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन्, संकलन तथा ओसारपसार बिक्रीवितरण सम्बन्धी कार्यविधि छन् । मदिरा नियन्त्रण, व्यवसाय दर्ता र गाउँपालिकाको स्वास्थ्य बिमा कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइसकेको जनाइएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा चुनिएका जनप्रतिनिधिले पहिलो पटक गाउँसभा सञ्चालन कार्यविधि तर्जुमा गरेका थिए । हालसम्म गाउँपालिकाले पाँच वर्षको अवधिमा १२ वटा ऐन, २१ वटा कार्यविधि, चार वटा निर्देशिका, तीन वटा नियमावली र एउटा मापदण्ड बनाएको छ ।
टिप्पणीहरू