विप्लवको विरोध कार्यक्रम होटल याक एण्ड यतिमा
नेकपा विप्लवले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा विरोध कार्यक्रम गर्न लागेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै विप्लवले याक एण्ड यतिको प्राङ्गणमा विरोध कार्यक्रमको आयोजना गरेको हो ।
केही बेरअघि उक्त समूहका झण्डै ६० जनाले कमलादीबाट विरोध र्याली निकालेका छन् । उनीहरुले प्रज्ञा प्रतिष्ठानको उत्तरतर्फको गेटबाट एमसीसीको विरोध गर्दै जुलुस निकालेका हुन् ।
विप्लव समूहले आज एमसीसीको काठमाडौं कार्यालयमा विरोध प्रदर्शन र घेराउको कार्यक्रम राखेको हो । कार्यक्रम पार्टी केन्द्रीय सदस्य चिरन पुन मगरको नेतृत्वमा भएको हो । केन्द्रीय सदस्यहरु चिरञ्जीवी ढकाललगायत विरोध कार्यक्रममा सहभागी भएका छन् ।
कमलादीदेखि याक एण्ड यति होटलसम्म गरिएको आजको विरोध प्रदर्शनमा गो ब्याक एमसीसी, राष्ट्रघाती एमसीसी खारेज गर, दलाल संसदीय व्यवस्था मुर्दावाद नारा लगाइएको छ । संसदीय व्यवस्थाको विरोध गरे पनि विप्लव समूहले गत स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने रणनीति बनाएको थियो । सोही कारण पार्टी औपचारिक रुपमा विभाजन समेत भएको छ ।
एमसीसीको नेपाल कार्यालय होटल याक एण्ड यतिको हाताभित्र राखिएको छ ।
टिप्पणीहरू