संसददेखि संगठनसम्मको अनुभव बोकेर डा. भट्ट केन्द्रीय दौडमा
अध्ययन,अनुसन्धान र वैचारिक स्पष्टताका कारण पार्टीभित्र बौद्धिक नेताका रूपमा परिचित डा. दीपकप्रकाश भट्टले नेकपा (एमाले) को केन्द्रीय सदस्य पदका लागि सुदूरपश्चिम प्रदेशको भूगोलबाट उम्मेदवारी घोषणा गरेका छन्।
राज्य सञ्चालन र नीति निर्माणमा पर्याप्त अनुभव बटुलेका डा. भट्ट २०७४ सालमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेर उनले परराष्ट्र नीति,कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरे । सो निर्वाचनमा उनले नेपाली कांग्रेसका चर्चित नेता रमेश लेखकलाई पराजित गरेका थिए।
महाधिवेशन प्रतिनिधि छनोटका क्रममा कञ्चनपुर क्षेत्र नम्बर ३ मा खसेको ८१६ मतमध्ये सर्वाधिक ५६७ मत प्राप्त गर्दै उनी लोकप्रिय र प्रभावशाली नेताका रूपमा स्थापित भएका छन् ।
भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका डा. भट्ट पार्टीको नीतिगत,वैचारिक तथा अन्तर्राष्ट्रिय मामिलामा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । निम्न–मध्यम वर्गीय परिवारबाट राजनीतिक यात्रामा प्रवेश गरेका उनले विद्यार्थी जीवनमै राजनीतिक चेतनाको विकास गर्दै संगठन निर्माणमा आफूलाई समर्पित गरेका थिए ।
२०४५ सालदेखि भारत प्रवासमा रहँदै अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमार्फत संगठन विस्तारमा सक्रिय डा. भट्ट महासचिव हुँदै २०५७ देखि २०६२ सम्म केन्द्रीय कमिटी अध्यक्षको जिम्मेवारीमा रहेका थिए । २०५२ सालमा एमालेको संगठित सदस्य बनेपछि उनले पिथौरागढ नगर कमिटी सचिव,दिल्ली राज्य कमिटी सदस्य, पार्टी राष्ट्रिय परिषद सदस्य तथा भारत प्रवास समन्वय कमिटी सदस्यलगायत विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन्।
सम्पर्क विभाग,विदेश विभाग र महाकाली अञ्चल सम्पर्क कमिटीमार्फत संगठन विस्तारमा योगदान दिएका डा. भट्टले २०४६ सालको जनआन्दोलनका क्रममा भारतको पिथौरागढमा नेतृत्वदायी भूमिका समेत खेलेका थिए।
यसअघि २०७२ देखि २०७४ सम्म उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको सदस्यका रूपमा काम गरेका उनी शान्ति प्रक्रियामा पनि उल्लेखनीय भूमिकामा रहे। २०६५ देखि २०६९ सम्म माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिको सचिवालय सदस्यका रूपमा कार्य गरेका थिए। साथै, २०७३ सालदेखि नेपाल सरकारद्वारा गठित राष्ट्रिय विकास परिषदको सदस्यका रूपमा समेत उनी सक्रिय छन्।
पार्टीको छैटौँ महाधिवेशनमा स्वयंसेवक र सातौँदेखि दशौँ महाधिवेशनसम्म प्रतिनिधिका रूपमा सहभागिता जनाइसकेका डा. भट्टले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन र सभामार्फत पार्टी र देशका मुद्दा विश्वमञ्चमा उठाउँदै आएका छन्।
लामो संगठनात्मक अनुभव, गहिरो वैचारिक पकड, अन्तर्राष्ट्रिय दृष्टिकोण र संसदीय अभ्यासका आधारमा आफ्नो उम्मेदवारी अघि बढाएको बताउँदै डा. भट्टले पार्टीभित्र आफ्नो उम्मेदवारीलाई सकारात्मक रूपमा हेरिएको दाबी गरेका छन्। केन्द्रीय सदस्यका रूपमा उनी बौद्धिक शक्ति, संगठन र व्यवहारिक राजनीतिबीच सेतु बन्न सक्ने विश्वास धेरै प्रतिनिधिहरूले व्यक्त गरेका छन्।
टिप्पणीहरू