माओवादीका पूर्वजनप्रतिनिधिले सरकारी निवास छाडेनन्
रोल्पाको गंगादेव गाउँपालिकाका निवर्तमान अध्यक्ष वीरबहादुर खत्रीले स्थानीय तहको निर्वाचनमा पराजय भोगेपछि पनि सरकारी निवास छाडेका छैनन् । हप्ता दिनअघि सम्पन्न कार्यपालिकाको बैठकमा निवर्तमान अध्यक्षले सरकारी निवास नछाडेको विषय व्यापक रूपमा चर्चा भएको एक कार्यपालिका सदस्यले बताएका छन् ।
गाउँपालिकाको सरकारी निवास राजीनामा दिएर सरकारी सेवा फिर्तासँगै छाड्नुपर्ने भए पनि उनले त्यसो नगरेको पाइएको छ । स्रोतका अनुसार खत्रीले त्यो निवास कुनै पनि हालतमा नछाड्ने बताउँदै आएका छन् ।
स्थानीय तहले भाडामा लिएको त्यो भवन असार मसान्तसम्म करार सम्झौताबमोजिम भाडा तिरेर सम्झौता रद्द गर्ने तयारीमा गाउँपालिका रहेको खत्रीनिकट एक कर्मचारी बताउँछन् । राजीनामा दिएका निवर्तमान अध्यक्षबाट प्रयोग गरिरहेका सुविधा फिर्ता लिने र सरकारी सम्पतिको संरक्षण गर्ने दायित्व प्रमुख प्रशासकीय अधिकृतमा रहे पनि गंगादेवका अधिकारीहरू मौन देखिएका छन् ।
गाउँपालिकाले खत्री बसिरहेको भवनलाई मासिक २५ हजार तिर्दै आएको स्रोत बताउँछ । गंगादेवले उपलब्ध गराए जति भाडा निवर्तमान अध्यक्षले दिन नसक्ने आकलन गर्दै अब भवन भाडामा नदिने घरधनीले बताउँदै आएका छन् ।
बारम्बार चर्चामा आइरहने गंगादेव गाउँपालिका निवर्तमान अध्यक्ष खत्री सरकारी निवासको विषयले पुनः चर्चामा आएका छन् । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश उपाध्यक्षसमेत रहेका उनी यतिबेला स्थानीयवासी र पार्टी नेता–कार्यकर्ताबाट आलोचित बनिरहेका छन् । उता नवनिर्वाचित अध्यक्ष हरिबहादुर पुनले भने सरकारी निवासको सेवा नलिने घोषणा गरिसकेका छन् ।
टिप्पणीहरू