अन्नपूर्णको समाचारमा अर्थ मन्त्रालयको खण्डन

अन्नपूर्णको समाचारमा अर्थ मन्त्रालयको खण्डन

अन्नपूर्ण पोस्ट दैनिकको मुख्यपृष्ठमा प्रकाशिक ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो’ शीर्षकको समाचारप्रति अर्थ मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अर्थतन्त्रको विकास र सुधारका विषयमा क्रियाशील भएर लाग्नुभएका अर्थमन्त्री जनार्दन शर्माको बारेमा आएको भ्रमपूर्ण र कपोकल्पित समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले भनेको छ । ‘सन्तुलित, तथ्यपूर्ण र विश्वासनीय समाचारका लागि आधिकारिक भनाइ राख्नुपर्ने पत्रकारिताको सामान्य सिद्धान्तलाई समेत विचार नगरी प्रकाशित यस्ता समाचारले समाजमा भ्रम पैदा गरेको छ’, मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रामक तवरले प्रकाशित समाचारमा कुनै सत्यता नरहेको भन्दै मन्त्रालयले खण्डन पनि गरेको छ । ‘तर्क र तथ्यमा आधारित नभई कपोलकल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित हुनु खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ।अन्नपूर्णको समाचारमा बजेट बाचनको अघिल्लो दिन राति अर्थमन्त्री जनार्दन शर्माले केही व्यक्तिको फाइदाका लागि राजस्वका डर हेरफेर गर्न अर्थमन्त्रालयका कर्मचारीलाई निर्देशन दिएको उल्लेख छ । त्यसको खण्डनमा मन्त्रालयले भनेको छ, ‘बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक विकासको गतिलाई तीव्रता दिनुपर्ने समयमा भ्रामक तवरले प्रकाशित यसप्रकारको समाचारको मन्त्रालय खण्डन गर्दछ ।’

बजेटलाई अन्तिम स्वरुप दिन जेठ १४ गते बिहानैदेखि मन्त्रालयमा अर्थमन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलगायत अन्य पदाधिकारीहरु छलफलमा बसेकोसमेत विज्ञप्तिमा जानकारी गराइएको छ । यस प्रक्रियामा तोकिएको पदाधिकारीबाहेक अन्यलाई सामेल नगराएको मन्त्रालयले प्रष्ट पारेको छ ।

टिप्पणीहरू