अब अन्तर्राष्ट्रिय बेइज्जत शुरु ?
अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटको विवाद निरूपणमा ढिलाइ हुँदा ऐतिहासिक बेइज्जति हुने खतरा बढेको छ । सर्वोच्च अदालतमा यी संस्थाका पदाधिकारी हेरफेरबारे मुद्दा दायर भएको लामो समय बितिसक्यो । सो मुद्दाका कारण रेडक्रस र स्काउटका कामकाज ठप्पजस्तै छन् ।
‘हेर्न नमिल्ने’ भन्दै सर्वोच्च अदालतबाट बारम्बार पेशी सरेपछि मुद्दाको सुनुवाइमा ढिलाइ भएको हो । यस्तो भएपछि रेडक्रस सोसाइटीमा वैदेशिक सहयोग उपलब्ध गराउने दातृनिकायले छक्क पर्दै प्रश्न गर्न थालेका छन् । बाढीपहिरोलगायत प्राकृतिक प्रकोपको समय आउन लागेको छ । यस्तो बेला सहायता सामग्री संकलन तथा वितरण गर्ने काम रेडक्रसले गर्नु पर्ने हो ।
विभिन्न कारणले विस्थापितको उद्धार गर्ने, पुनस्र्थापना गर्ने, युद्ध वन्दीहरूको खोजखबर र साटासाटमा संलग्न हुने, घाइतेको उद्धारजस्ता मुख्य काम गर्ने रेडक्रसले ब्लड बैंक, एम्बुलेन्स सञ्चालनलगायत परियोजना सञ्चालन गर्दै आइरहेको छ ।
लायन्स क्लब, रोटरी क्लव, जेसिज र द रेयुकाइलगायत संस्थाहरूमा आफ्नै पैसा खर्च गरेर काम गर्न इच्छुक व्यक्तिहरू लाखौं छन् । तर, रेडक्रस र स्काउट भने फरक प्रकृतिका संस्थाको रूपमा चिनिन्छन् । अदालतमा यस्ता संस्थाको पदाधिकारीबीच झगडा पर्ने, मुद्दा हालाहाल हुने, एकपटक पदाधिकारी बनेपछि जुकोजस्तै टाँसिन चाहने मनोवृत्ति देखिन्छ ।
यस्तो बेला अदालतले पनि ‘स्टे अर्डर’ कायम राख्दै पेशी सार्ने, हेर्न नमिल्ने हुँदै गएपछि सेवाग्राही मारमा पर्न थालेको गुनासो छ । नेपाल स्काउटले त स्टेअर्डरकै बेला सरकारी बजेटमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर उपयुक्त फाइदा पनि उठाउने गरेको छ । रेडक्रस सेवा प्रदान गर्ने हो भने स्काउट देश प्रेम र अनुशासन सिकाउने संस्थाको रूपमा परिचित छ । यी दुवैलाई सरकारले थोरबहुत सहयोग उपलब्ध गराउँदै पनि आएको छ ।
नेपाल स्काउटको विधानमा सबै तहका सरकारहरू संरक्षक हुने प्रावधान छ । त्यही अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मुख्य संरक्षकको जिम्मेवारीमा थिए । त्यसबेला उनले नियुक्ति गरेका संयोजक लोकबहादुर भण्डारी र निर्देशक राम भट्टराईले गुण फर्काएको अवसरको रूपमा केही दिनअघि केपी ओलीलाई दिइएको सम्मानलाई बुझ्ने गरिएको छ ।
उनलाई राज्य कोषले उपलव्ध गराएको बजेटबाट नेपाल स्काउटले भव्य सम्मान गरेको हो । जबकि ओलीको नेपाल स्काउटमा खासै योगदान देखिँदैन । अनुशासन र नैतिकता सिकाउने स्काउटले चाकडी बजाउन खर्च गर्ने यो अवसर भने मुद्दा हेर्न नमिल्ने व्यवस्थाका कारण जुरेको दाबी स्रोतले गरेको छ । स्रोतका अनुसार नेपाल स्काउटको निर्देशक राम भट्टराईका ससुरा विदेशी हुन् ।
उनी स्काउटको एसिया प्यासिफिक रिजनका सदस्य छन् । ज्वाइँको सिफारिसमा केपी ओलीलाई खुशी पार्न भूतपूर्व भए पनि सो सम्मान स्काउटका तदर्थ समितिका संयोजक भण्डारीको प्रदान गरेको दाबी स्रोतले गरेको छ । स्मरणीय छ, झापालीबाहेक योग्य मान्छे नदेख्ने ओलीले नियुक्त गरेका संयोजक भण्डारी पनि झापाली नैं हुन् ।
उनले तदर्थ समिति बनाएर संयोजकको जिम्मेवारी सम्हालेको पनि दुई वर्षभन्दा बढी हुन लागेको छ । स्टेअर्डरकै आधारमा टिकेका भण्डारीले नेपाल स्काउटको करिब सात करोड बजेट विभिन्न कार्यक्रम गरेर सकेका छन् । लामो समयपछि पेशी राखिने र राखेको पेशी पनि हेर्न नमिल्ने कारणबारे जानकारी लिन खोज्दा पेशी नतोक्न माओवादी केन्द्रका नेताले फोन गरेको हौवा बाहिर पिटाइने गरेको दावी छ ।
यसले अदालत र प्रचण्ड दुवैलाई वदनाम गराउने खोजेको छ । राष्ट्रिय खेलकुद परिषद्को यस्तै लफडामा भने सर्वोच्च अदालतबाट अन्तिम टुंगो लागेर नयाँ कार्यसमितिले काम गर्न थालिसकेको छ ।
बालेनको शानलाई नकच्चरो नठान ?
‘जनताका छोरा, दलहरूको लागि मोरा’ भनिएका बालेन साह पनि काठमाडौँ महानगरपालिकाको मेयरमा पदासिन भएपछि दलका नेताहरूको दैलोमा भेटघाट भन्दै ‘आशिर्वाद’ थाप्न हिंडिरहेका छन् । यसै क्रममा अस्ति उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई भेट्न खुमल्टार पुगेका थिए । यस्तो बेला उनको भेटघाटको शैली भने रोचक देखिएको छ ।
उनी प्रचण्ड निवास छिर्नुअगावै चारपाँच जना युवा पहिला छुट्टै गाडीबाट ओर्लिएर ‘अब बालेन आउनुहुन्छ’ भन्दै तुरुकफुरुक गर्छन् । यी युवा प्रहरी पनि होइनन् । मेयर बालेन निवासमा आउने भएपछि प्रचण्डका सहयोगी रमेश मल्लले खादाले स्वागत गर्ने तयारी गरेका थिए ।
तर बालेनका सहयोगीले ‘बालेनले खादा र माला लाउनुहुन्न’ भन्दै तर्काए । प्रचण्ड र बालेनबीच दश मीनेट जित कुराकानी भएको थियो । यी युवाबाहेक बालेनले अन्य ८/१० जना सहयोगी पनि सँगै लिएर हिँड्ने गरेका छन् ।
टिप्पणीहरू