किताब बाँड्नेलाई शिक्षामन्त्रीले कारवाही गर्ने

किताब बाँड्नेलाई शिक्षामन्त्रीले कारवाही गर्ने

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्वीकृति नदिएका पाठ्यपुस्तक वितरण गर्नेलाई कारबाही गरिने बताउनु भएको छ ।

मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले अनाधिकृत रुपमा विद्यार्थीलाई पुस्तक वितरण गर्नेमाथि अविलम्ब कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको हो ।

त्यसअघि छलफलमा भाग लिने सांसदहरुले धर्म परिवर्तन गराउने कार्यमा सरकार आफैं संलग्न भएर पाठ्यपुस्तक तयार गरि वितरण गरेको भन्दै प्रश्न उठाएका थिए । त्यसको जवाफमा मन्त्री पौडेलले सरकारले स्वीकृति दिएका पाठ्यपुस्तकमा यस्ता कुरा समावेश नभएको प्रष्ट पार्नुभयो ।

कुनै–कुनै जिल्लामा केही संस्थाले वितरण गरेको पुस्तकमा उक्त विषय समावेश भएको देखिएकाले अविलम्ब यस कार्यमा संलग्नमाथि कारबाही गरिने उहाँले बताउनुभएको हो ।

‘स्वीकृत भएका पुस्तकमा केही माननीय सदस्यहरुले उठाएका कुरा पाठ्यक्रममा कहीँ पनि समावेश छैन । हामीलाई जानकारी पनि छैन । हामीले बजारमा बुझ्दाखेरी, तथ्य बुझ्दाखेरी, तराईको कुनै जिल्लामा यस प्रकारका किताबहरु, त्यस प्रकारका संस्थाले अतिरिक्त अध्ययनका लागि वितरण गरेको प्रारम्भिक सूचना आएको छ,’ बैठकमा मन्त्री पौडेल भन्नुभयो, ‘अनधिकृत रुपमा त्यस्ता पुस्तक कसले वितरण गरेका छन् । खोजबिन गरेर अविलम्ब कानुनी कारबाही गरिनेछ ।’

टिप्पणीहरू