अमेरिकी योजनाको संसदभित्र र बाहिर सर्वत्र विरोध
अमेरिकी सरकारले नेपाल समक्ष राखेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) को चौतर्फी विरोध हुन थालेको छ ।
अमेरिकी रक्षामन्त्रालयले नेपाली सेनालाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी ) मा समावेश गराउन भन्दै पठाएको प्रस्ताव सार्वजनिक भएपछि विभिन्न नौ राजनीतिक दलले संयुक्त विरोध गरेका हुन् ।
उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा अमेरिकाले प्रस्ताव गरेको एसपीपीलगायत विभिन्न राष्ट्रघाती दस्तावेजमा हस्ताक्षर हुने खतरा बढेको उल्लेख छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण रद्द गर्न वा भ्रमणको क्रममा त्यस प्रकारका कुनैपनि सम्झौतामा हस्ताक्षर नगर्न ती दलले माग गरेका छन् ।
यस्तो माग गर्नेमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (बहुमत) का संयोजक कञ्चन, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव आहुति, माओवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव रामनारायण पाल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेकपा मसाल केससका संयोजक सन्तबहादुर नेपाली र जनसमाजवादी मञ्च नेपालका संयोजक गम्भीर हुन् ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा एसपीपी योजना हिन्द–प्रशान्त रणनीतिको अंग रहेको उल्लेख गर्दै अमेरिकी सेनाले नेपाली सेनालाई आफ्नो अंग बनाउन खोजेको दाबी गरेका छन् ।
सत्ता जोगाउन साम्राज्यवादी शासकहरुको चाकडीमा गठबन्धन सरकार सामेल रहेको भन्दै संसद बाहिरका कम्युनिष्ट नेताहरुले संसदवादी दलहरुको राष्ट्रिय आत्मसमर्पणवादी रवैयाका विरुद्ध आवाज उठाउन पनि सबैमा आग्रह गरेका छन् ।
संसदभित्र रहेका नेपाली काँग्रेस र मधेशवादी दलका बाहेक अन्य दलका केही सांसदले अमेरिकी प्रस्तावको विरोध गरेका छन् ।

टिप्पणीहरू