काठमाडौं विमानस्थलमा धुँवाको कालो मुश्लो निस्कँदै

काठमाडौं विमानस्थलमा धुँवाको कालो मुश्लो निस्कँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले केही बेरपछि धुवाँको कालो मुश्लो निकालिँदैछ । सँगसँगै दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति र कुदाकुद पनि हुँदैछ । हवाइ यात्रुको उद्धार, उपचार र व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन हुनेछन् ।

तर यो दृश्य कुनै विमान दुर्घटना भएर वा हुन लागेर देखाइएको होइन । विमानस्थलमा अपनाइने संकटकालीन उद्धार र व्यवस्थापन योजनाको व्यवहारिक तयारी गर्न लागिएको हो ।

यस्तो तयारीमा हवाई उडान सेवासँग सम्बद्ध विभिन्न निकायहरूको सहभागिता गराईंदैछ । यो कुनै विमान दुर्घटना भए र हुन लागेर अहिले यसो गरिएको होइन । आजको संकटकालीन व्यवस्थापनको क्रममा विमानमा कुने क्षति पुग्ने छैन । जनधनको पनि क्षति हुने छैन । हेर्दा मात्र दुर्घटनाजस्तो देखिनेछ ।

आजको झण्डै एक घण्टा विमानस्थलमा हुन लागेको आकस्मिक उद्दारको व्यवहारिक प्रशिक्षणबाट कुनै पनि यात्रु र आफन्तहरू डराउन नपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आज पूर्ण संकटकालीन अवस्थाको अभ्यास गर्न लागिएको हो ।

विमानस्थलमा देखिन लागेको दुर्घटना र उद्धारको दृश्य बनावटी मात्रै भएको जनाइएको छ । त्यस्ता घटनाको प्रतिकार्यमा दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि देखिनेछ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले भनेको छ, ‘यो अभ्यास स्थानीय समयअनुसार आज दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म हुनेछ । सो क्रममा विमानस्थलबाट हुने नियमित उडान र अवतरण केहीबेर प्रभावित हुन सक्नेछ ।’

टिप्पणीहरू