केपी सरकारले अघि बढाएको एसपीपी सम्झौता गठबन्धनले खारेज गर्ने प्रचण्डको घोषणा
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अघि बढाएको बताउनुभएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले सन् २०१९ मै सम्झौता कार्यान्वयनमा ल्याइएको पनि दाबी गर्नुभयो ।
एसीपीपी सम्झौता सन् २०१९ सालमा ओली नेतृत्वको सरकारले अघि सारेको तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको उहाँको भनाइ छ ।
अध्यक्ष प्रचण्डले अहिले राष्ट्रवादको झूठो र पाखण्डी प्रचार गर्ने कार्य भइरहेको जिकिर गर्नुभयो । उहाँले एसपीपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेरिकासँग एसपीपी जस्ता कुनै सैन्य सम्झौता नगर्ने घोषणा गर्नुभयो । ‘
‘प्रधानमन्त्रीजीले म कुनैपनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर त्यो कमिटमेण्ट गर्नुभएको छ । कोही भ्रममा पर्न जरुरी छैन‘, प्रचण्डले भन्नुभयो, ‘बरु एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ ।‘
गठबन्धन सरकार एसपीपी जस्तो सैन्य सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै प्रचण्डले नेपालको राष्ट्रिय स्वाधिनता, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाउनुभयो । उहाँले एक्लै अघि बढ्ने अहंकार, निरंकुशता र अराजकता सबैले तोड्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
टिप्पणीहरू