ओलीसामू अष्टको आक्रोश

ओलीसामू अष्टको आक्रोश

‘तपाईंले कसलाई कारवाही गर्ने हँ ? किन गर्नुप¥यो कारवाही ?’ आफ्नै पार्टीकी सिनियर नेतृ अध्यक्षसँग यसरी पेश भइरहँदा केपी ओली भने नाजवाफ हुनुहुुन्थ्यो । उहाँले थप्नुभो, ‘कारवाही गरेपछि कसलाई लिएर पार्टी चलाउनुहुन्छ ? कस्तो पार्टी चलाउनुहुन्छ ?’

उहाँ हुनुहुन्थ्यो उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । ओलीले आफूविरोधी अभिव्यक्ति दिएको नाममा कारवाही गर्न चाहनुभएका नेता घनश्याम भुसालको पक्षमा उहाँले गत सोमबार साँझ यस्तो अभिव्यक्ति दिनुभएको हो । त्यसो त अष्टको पहिचान भनेकै जे बोले पनि खरोसँग बोल्ने हो ।

पञ्चायतकालमा श्यामप्रसाद शर्माको ‘अतिगोप्यतावादी समूह’ छोडेर मालेमा लागेकी उहाँ माधव नेपालको साथ ‘पार्टी मिलाउने’ नाममा एमालेमै बस्नुभएको थियो । ओलीतिर लाग्नुअघि ‘माधवलाई भाँडिन दिनु हुँदैन, ओलीलाई पार्टीमा राख्नु हुँदैन ।’ पछि ‘विभाजनको पक्षमा कहिल्यै थिइनँ’ भन्दै बागमती प्रदेशको तीन महिने मुख्यमन्त्री खानुभयो ।

अष्टमात्रै हैन, युवराज ज्ञवाली, भीम आचार्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराईहरुले पनि घनश्याममाथि गर्न खोजिएको कारवाहीको विरोध गरेका छन् । ओली खेमाका पुरानै नेता मानिने पृथ्वीसुब्बा गुरुङहरु पनि भुसालमाथिको कारवाहीका विरोधी भएका छन् । त्यसैले होला, सोमबारको सचिवालय बैठकमा निर्वाचनमा भएको अन्तर्घात तथा असहयोगका तथ्य र प्रमाणका आधारमा दण्डित गरिनुपर्ने विषय उठेको थियो तर त्यहाँ घनश्यामको विषयले प्रवेश पाएन ।

स्थानीय निर्वाचनपछिको समीक्षा वा पूर्वपरिणामको तुलनामा भएको क्षतिप्रतिको बुझाई फरक–फरक हुँदा स्वयं अध्यक्ष ओलीका अभिव्यक्ति पनि स्थीर ढंगले आएका छैनन् । एकातिर उहाँ कूल प्राप्त मतका आधारमा अझै पार्टी ठूलै भएको भन्दै हुनुहुन्छ भने अर्कातिर कहिले धाँधली, कहिले अन्तर्घात त कहिले सत्ता गठबन्धनबाट क्षतिको कारण भन्नु गर्नुहुन्छ ।

अनि, आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे अझै स्पष्ट हुनुहुन्न । विराटनगर गएर पत्रकारहरुसँग ‘के–को वाम तालमेल ? को हुन् वामपन्थी ?’ जस्ता कुरा गर्नुभयो । बोलि जस्तो भए पनि उहाँको अनुहारचाहिँ पूरै खस्केको थियो । स्मरणीय के छ भने, ०७४ मा एमालेले कांग्रेसको भन्दा ५२ हजार बढी भोटमात्रै ल्याएको हो । अबको आम निर्वाचनमा लोकप्रिय मत त्यति नआउने खतरा छ । स्वतन्त्र उम्मेदवारहरुले एमालेको काट्दैनन्, कांग्रेसको मात्रै काट्छन् भन्ने हुँदैन ।

त्यसो त यतिबेलासम्म एमालेभित्रका पूर्वओली खेमाभित्रै विभिन्न गुटहरुको जन्म भइरहेका छन् । त्यसमध्ये विष्णु पौडेलहरु अहिले ठुस्किए पनि उहाँका केही ‘दुःख’ छन्, जसले ओलीलाई छोड्न दिँदैन । त्यो हो, ललिता निवासदेखि एनसेलको पुँजिगत लाभकर मामिला । ओलीपक्षीय कतिपय नेताहरु घनश्यामको मामिलामा उनलाई कारवाही गर्नुहुँदैन भनेर एमालेले हारेको न्यारेटिभ (कथ्य) स्थापित गर्न खोजेको भनिरहेका छन् ।

यसले पार्टीलाई क्षति पु¥याउने कारण घनश्यामहरुको जस्तो बोलीमा नियन्त्रण हुनुपर्छ भन्ने उनीहरुको मान्यता छ । माओवादी र समाजवादीले प्रष्टसँग अबको चुुनावमा पनि कांग्रेसलाई नै बोकेर अगाडि जाने भनिसकेपछि उनीहरुसँग गठबन्धन वा एकताको कुरा गर्नु बेकार हुन्छ । त्यसैले एक्लै चुनावमा जाँदा जसरी त्यो चुनावलाई सामना गर्न सकिन्छ, त्यसअनुसारको रणनीति तय गरिनुपर्ने ती नेताले भन्न थालेका छन् ।

टिप्पणीहरू