पहिलो औद्योगिकग्राम सञ्चालनमा आउन बाधा
-ईश्वर थापा
स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनको निम्ति धनकुटा नगरपालिका ६ मा औद्योगिकग्राम सञ्चालन गर्न करोडौँ रुपैयाँ खर्च गरी संरचना निर्माण गरिएको छ । तर उक्त संरचना निर्माण गरिएको चार वर्ष बित्दासमेत ग्राम सञ्चालनमा आउन सकेको छैन ।
औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । लामो समयसम्म कुनै पनि उद्योग स्थापना नभएपछि अन्ततः औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिकग्रामको नाममा ल्याएर औद्योगिकग्राम स्थापनाको तयारी गरियो ।
पहिलो चरणमा सुर्खेत र धनकुटामा औद्योगिकग्राम स्थापनाको तयारी गरिए पनि धनकुटामा भने पहिलो चरणमा भवन निर्माण भइसकेको छ । नेपालमै पहिलो पटक धनकुटामा औद्योगिकग्राम निर्माण भए पनि दुइ वर्षसम्म सञ्चालन कार्यविधि अभावका कारण रोकिएको थियो । कार्यविधि बनेको दुई वर्ष बित्न लाग्दा पनि औद्योगिकग्राम सञ्चालनमा आउन सकेको छैन ।
औद्योगिकग्राममा एक वर्ष पहिले पहिलो चरणको संरचना निर्माण भएका हुन् । अहिले थप संरचना निर्माणको काम पनि धमाधम भइरहेको छ । पहिलो चरणमा निर्माण भएका संरचनामा उद्योग सञ्चालनको तयारी गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए ।
अहिलेसम्म २५ वटा ब्लक निर्माण सम्पन्न गरेर चालु आर्थिक वर्षभित्र सञ्चालन गर्नेगरि टेण्डर आह्वान गरिएको थियो । तर १३ साना तथा घरेलु उद्योगी मात्र टेण्डरमा सहभागी भएका छन् । जसमा पाँच वटालाई सञ्चालनको अनुमति दिन लागिएको प्रमुख थापाले जानकारी दिए । उनका अनुसार औद्योगिक ग्राममा साना, घरेलु तथा लद्यु उद्यमीलाई प्राथमिकतामा राखिएको छ ।
करिब १५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएका करिब दुइ दर्जन ब्लक अहिले प्रयोगविहीन छन् । औद्योगिक ग्राममा पहुँचमार्ग, पर्खाल, गेट, दुईवटा चर्पी, बाथरुम, नाली र पानी ट्याङ्की निर्माण गरिएको छ ।
सबैलाइ अपायक स्थानमा भएका कारण उद्योगीले ग्रामभित्र उद्योग सञ्चालन गर्न चासो नदिएको लघुउद्यमीहरुको भनाइ छ । सबै उद्यमीसँग समन्वय गरि सञ्चालन गरिनुपर्ने कविता फलफूल प्रशोधन केन्द्रकी सञ्चालक कविता कन्दङ्वाको भनाइ छ । उनले साना उद्यमीलाई आग्रह गरेर औद्योगिकग्राम सञ्चालन गर्नुपर्ने बताइन् । औद्योगिकग्राम भएको ठाउँमा कोरोनाको समयमा आइसोलेसन सेन्टर निर्माण भएकाले अब परिस्थिति सहज भएकाले सञ्चालनमा आउने अपेक्षा उनको छ ।
पहाडी क्षेत्रका उद्योगी व्यवसायी र साना लगानीमा सञ्चालन हुने लघु उद्योगहरुलाई एउटै थलोवाट सेवा प्रदान गर्ने र बजार व्यवस्थापनमा समेत टेवा पुर्याउने औद्योगिकग्रामको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
टिप्पणीहरू