घोरल मारेको अभियोग लागेको कुकुर तीन महिनापछि थुनामुक्त

घोरल मारेको अभियोग लागेको कुकुर तीन महिनापछि थुनामुक्त

तीन महिनादेखि डिभिजन वन कार्यालय, मुगुमा हिरासतमा राखिएको कुकुरलाई आज थुनामुक्त गरिएको छ ।

गत फागुन २६ गते मुगुम कार्मारोङ गाउँपालिका–१, चितैकुनाबाट घोरल मारेको अभियोगमा कुकुरका मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई चैत १४ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटे पनि कुकुर भने थुनामै थियो । तर, कुकुरका मालिक तीन महिनापछि सम्पर्कमा आएपछि कुकुरलाई उनकै जिम्मा लगाएर पठाएको कार्यालयका सूचना अधिकारी प्रनिल देवकोटाले बताए ।

च्याम्पाले मुगुम कार्मारोङ गाउँपालिका–१, चितैबाट सम्पर्क गर्न असहज भएको बताए । डिभिजन वन कार्यालय मुगुले भने समयमै जानकारी नदिए पनि कुकुर सकुशल रहेको जानकारी पाएपछि उनी लिन आएको जानकारी दिएको छ ।

जंगली जनावर चोरी शिकारी आरोपमा उनीहरूविरुद्ध कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन जेठ १२ गते जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । टासी र छिमेक भने साधारण तारेखमा छुटेका हुन् ।

टिप्पणीहरू