आफ्नो जीवनकालमा केरुङबाट रेल नआउने काँग्रेस महामन्त्रीको ठोकुवा

आफ्नो जीवनकालमा केरुङबाट रेल नआउने काँग्रेस महामन्त्रीको ठोकुवा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेल मार्ग निर्माण गर्न नसक्ने बताउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले उत्तरी नाका जोड्ने रेल मार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘नुवाकोट र रसुवाका स्थानीयलाई सरकारले यो बनाउन सक्दैन भन्ने यथार्थ भन्नुपर्ने हुन्छ । छिमेकी मुलुक चीन र भारतलाई नेपालले केरुङ–काठमाण्डौ रेल मार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन प्रस्ताव राख्नुपर्छ ।’

आर्थिक हिसाबले निकै महँगो उक्त परियोजना हाम्रो आफ्नो लागि भन्दा पनि छिमेकी मुलुकको व्यापारको निम्ति रेलमार्ग भाडामा उपलब्ध गराउन सकिने कुरो चीन र भारतलाई भन्नुपर्ने उहाँको धारणा छ । महामन्त्री शर्माले भन्नुभयो, ‘विश्वप्रकाश शर्मा बाँचुञ्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन । अब हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भनेर क्लियरली भन्नुपर्छ ।’

छिमेकी देशहरुबाट रेल आउनुपर्छ तर हाम्रो तागतले रेलमार्ग निर्माण गर्न सक्दैनौँ भनेर प्रष्ट भन्नुपर्ने उहाँको धारणा छ । अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भए पनि रेल कहाँबाट ल्याउने, सक्छौँ वा सक्दैनौँ भन्ने आधार नै नरहेको अवस्था देखिएको शर्माको भनाइ छ । उहाँले एउटा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दुई हुँदै जानुपर्ने बेलामा एकै पटक चार वटामा प्रवेश गर्नु गलत भएको पनि बताउनुभयो । यो सबै हुनुमा सबै दललाई एकै पटक चुनाव लाग्ने र सस्तो लोकप्रियताको यस्ता कुरा गर्ने भएरै समस्या भएको उहाँको दाबी थियो।

टिप्पणीहरू