आठ दिनअघि हराएका बालक ढलमा जिउँदै भेटिए
जर्मनीमा आठ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला परेका छन् । १७ जुनदेखि हराएका बालक २५ जुनमा फेला परेका हुन् ।
बीबीसीका अनुसार जोइ नामका ती बालक १७ जुनमा पारिवारिक बगैंचाबाट हराएका थिए । जसका कारण प्रहरीले उनको ठूलो खोजी गरेको थियो । उनी २५ जुनमा बिहान फेला परेका थिए । एक पैदलयात्रीले ढलको ढकनीको प्वालबाट मन्द आवाज सुनेपछि उद्धार कार्य सुरु भएको थियो ।
करिब १० मिनेटपछि दमकल र आकस्मिक चिकित्सकको टोली घटनास्थलमा पुगेको थियो । न्युजवीकका अनुसार सडकमा ढलको ढकनी उचालेपछि अग्निनियन्त्रक ढलमुनि झरेर बालकलाई माथि तानेका थिए । उक्त स्थान उनको घरबाट तीन सय मिटर टाढा थियो ।
बालकलाई कुन चोटपटक नलागेको र खतरामुक्त रहेको प्राप्त विवरणमा जनाइएको छ । सुक्ष्म रूपमा मानसिक असन्तुलित ती बालक लामो समयसम्म कसरी बाँचे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरेको छ ।
टिप्पणीहरू