शुक्लाफाँटामा यस्ता त छन् ठेकेदार,सडकपछि पर्खाल सोत्तर

शुक्लाफाँटामा यस्ता त छन् ठेकेदार,सडकपछि पर्खाल सोत्तर

सुदूरपश्चिम प्रदेश सरकार पछिल्लो समय एकपछि अर्को विवादमा तानिएको छ । प्रदेश सरकारले टेण्डर आह्वान गरेका भौतिक पूर्वाधारहरु वर्ष दिन नपुग्दै भत्किएका छन् । योसँगै चालु आर्थिक वर्षको बजेटमा चरम अनियमितता भएको भन्दै स्थानीयस्तरबाट सरकारको चर्को विरोध भइरहेको छ ।

प्रदेश सरकारले टेण्डर आह्वान गरेका धेरैजसो सडक,खानेपानी परियोजनालगायत पूर्वाधारहरु बर्खा लागेसँगै जगैदेखि ढल्न थालेका छन् । यसको ताजा उदाहरण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ मा निर्मित खानेपानी कार्यालय भवनको पर्खाल हो । यो पर्खाल बनेको एक वर्ष नहुँदै जगबाटै गर्ल्यामगुर्लुम ढलेको छ ।

यसको ठेक्का खानेपानी तथा सरसफाइ समिति कञ्चनपुरले पाएको थियो । खानेपानी भवन निर्माणका लागि करिब आठ करोड लाग्ने अनुमान गरेकोे समितिले सामान्य पर्खाल निर्माणमा २२ लाखभन्दा बढी खर्चेको बताइन्छ । तर,अहिले बजेटअनुसारको पर्खाल नबनेपछि ठेकेदारमाथि प्रश्न उठेको छ ।

सो पर्खाल कुनै मापदण्डको पालना नगरी निर्माण गरिएको भन्दै वर्ष दिन पनि टिक्न नसक्नु चरम लापरबाहीको पराकाष्ठा भएको स्थानीय युवाको आरोप छ । वडाको खानेपानी भवन बनाउने ठेक्का पाएका खानेपानी तथा सरसफाइ समिति अध्यक्ष दिपेन्द्रकुमार भण्डारीले टिकाउ र दीर्घकालीन पर्खालसमेत बनाउन नसकेको ती युवाले बताए । योसँगै ठेकेदार भण्डारी र प्रदेश सरकारको मिलेमतोमा गैरजिम्मेवार काम भएको भन्दै जनप्रतिनिधि र गाउँलेहरुले विरोध जनाएका हुन् ।

‘यो ठेकेदारको लापरवाही हो’

शुक्लाफाँटा नगरपालिका ५ का वडाध्यक्ष चक्रबहादुर खड्काले पनि ठेकेदारको लापरबाहीले खानेपानीको पर्खाल भत्किएको बताए । पछिल्लो समय जिल्लाका धेरैजसो ठेकेदारले प्रदेश सरकारको बजेट सक्ने काम मात्र गरेको भन्दै उनले आपत्ति जनाएका छन् । सो पर्खाल मापदण्डअनुसार निर्माण गर्नुको सट्टा कमिसनको लोभमा र हावाको भरमा निर्माण गरिएकाले त्यस्तो भएको उनको आरोप छ ।

‘यो पर्खाल मापदण्डअनुसार बनाइएकै होइन । हावामा पनि पर्खाल बन्छ ? यसमा कमिसनको खेल भएको छ,’ उनले भने, ‘अहिले जिल्लाका धेरैजसो ठेकेदारले प्रदेश सरकारको बजेट सक्ने मेसो मात्र गरेका छन् । यसमा मेरो ध्यानाकर्षण र आपत्ति दुवै छ ।‘

आर्थिक अनियमिततातर्फ आफ्नो सदैव खबरदारी रहने धारणा राख्दै उनले वडाध्यक्ष भएको हैसियतले यसमा आफ्नो पनि जिम्मेवारी रहेको बताए । आफूहरु भर्खर निर्वाचित भएर आएकाले धेरै कुरा थाहा पाउन बाँकी रहेको भन्दै उनले थपे, ‘वडामा भएका यस्ता गतिविधिलाई हामी रोक्छौँ । जो सुकै होस् कारबाही गरेरै छाड्छौँ ।’

इञ्जिनियरमाथि आरोप

नगरपालिकाको ५ नम्बर वडाको खानेपानी भवन बनाउने जिम्मा पाएको खानेपानी तथा सरसफाइ समितिले आफूमाथि लागेको आरोपको भने खण्डन गरेको छ । समितिकी उपाध्यक्ष निर्मला गिरीले सबै मापदण्ड पूरा गरेर पर्खाल निर्माण गरिएको भए पनि इञ्जिनियरको सानो गल्तीका कारण पर्खाल भत्किएको उनको भनाइ छ ।

इञ्जिनियरको आग्रहमा पर्खालको जग उठाउँदा ढुङ्गाको नभई ईंटाको प्रयोग गरेकाले उक्त अवस्था देख्नुपरेको उनको दाबी छ । त्यतिबेलै इञ्जिनियरलाई ईंटाको प्रयोग नगर्न भनिए पनि उनले अटेर गरेको उपाध्यक्ष गिरीको आरोप छ ।

करिब ४० मीटर पर्खाल भत्किएको उल्लेख गर्दै उपाध्यक्ष गिरीले थपिन्, ‘त्यो बेला नै हामीले इञ्जिनियरलाई पर्खालको जगमा ढुंगा राख्न भनेका थियौँ । उनले ठीकै हुन्छ भनेर ईंटा प्रयोग गर्न लगाए । तर,अहिले यस्तो परिणाम भोग्नु परेको छ । यसमा हामी गम्भीर छौँ ।‘

टिप्पणीहरू