त्यही मेसोमा अरुलाई पनि मिसाएको भए के बिग्रन्थ्यो !
नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । उहाँले हिजो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणपत्र बुझाउनुभएको हो ।
गत शनिबार काठमाडौं आउनुभएका श्रीवास्तवले हिजो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक रुपमा राजदूतको जिम्मेवारी सम्हाल्नुभएको छ । शीतल निवासमा आयोजित कार्यक्रममा एक्लो भारतीय राजदूतले मात्र ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।
नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकमध्ये दुई दर्जन बढीको मात्र काठमाडौंमा आवासीय राजदूत छन् । बाँकी अधिकांश मुलुकका राजदूत गैरआवासीय हुन् । उनीहरुले पनि काठमाडौं आएर राष्ट्रपतिसमक्ष प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । तर, त्यसरी ओहोदाको प्रमाणपत्र पेश गर्ने समयको प्रतीक्षामा रहेका दर्जनौं मुलुकका राजदूतलाई भने खबर नगरिएको बुझिएको छ ।
उक्त कार्यको सबै चाँजापाँजो परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाले शीतल निवाससँगको समन्वयमा मिलाउने गर्छ । तर, शिष्टाचार महापाल नै केही दिन पहिले अशिष्ट गतिविधिमा संलग्न भएपछि उक्त महाशाखाबाट परिणाममुखी निचोडको आशा नगर्न त्यहिँका कर्मचारीले बताएका छन् ।
यसअघि भारतका लागि नेपालका राजदूत डा. शंकर शर्मा मार्च २९ मा नयाँ दिल्ली पुगे पनि ओहोदाको प्रमाणपत्र पेश गर्ने समय माग गर्दै लामो समयसम्म प्रतिक्षामा बस्नु परेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण हुँदा उहाँले ओहोदाको प्रमाणपत्र पेश गर्ने समय पाउनुभएन । मे ११ मा बल्ल प्रमाणपत्र पेश गर्ने अवसर आयो ।
टिप्पणीहरू