नक्कली पैसा बोक्दा जेल परेका भारतीय पत्रकार छुटाउन चन्दा संकलन

नक्कली पैसा बोक्दा जेल परेका भारतीय पत्रकार छुटाउन चन्दा संकलन

नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई जेलमुक्त गराउन आर्थिक संकलन थाल्ने भएको छ ।

खोटा मुद्रा बोकेको अभियोगमा साढे सात महिनादेखि झापाको जेलमा रहेका दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्न लागेको हो । एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएका दुर्लभको बाँकी कैद कम गर्न र जरिवाना तिर्न चन्दा संकलन गर्न लागिएको एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

उनका अनुसार दुर्लभलाई कारागारबाट मुक्त गर्नका लागि फोटो पत्रकार समूहले रकम चन्दा संकलन गर्न लागेको हो । नक्कली अमेरिकी डलर साथमा बोकी हिँडेको कसूरमा झापा जिल्ला अदालतले असार ९ गते दुर्लभलाई एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ ले एक वर्षभन्दा कम सजाय ठहर गरिएको मुद्दामा कैद बसेको समयबाहेक बाँकी समय दैनिक ५ सय रुपैयाँका दरले खरिद गर्न सक्ने व्यवस्था रहेकामा सोही प्रयोजनका लागि एनएफपिजेले रकम संकलन गर्न लागेको हो ।

अध्यक्ष वन्तका अनुसार दुर्लभ हालसम्म ७ महिना १५ दिन कैद बसिसकेको र बाँकी ४ महिना १५ दिन कैद सजायका लागि दैनिक ५ सय रुपैयाँका दरले ६७ हजार ५ सय रुपैयाँ तथा जरिवानावापतको १५ हजार रुपैयाँ गरी कूल ८२ हजार पाँचसय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

टिप्पणीहरू