थाइल्याण्डमा गाँजा खुल्दा मकवानपुरमा उत्साह !

थाइल्याण्डमा गाँजा खुल्दा मकवानपुरमा उत्साह !

प्रतिबन्धित गाँजा खेतीलाई थाइल्याण्डले बैधानिकता दिएको समाचार सार्वजनिक हुँदा मकवानपुरको उत्तर–पश्चिमका दुर्गम गाउँमा उत्साह छ । कारण हो–गाँजाको व्यावसायिक खेती यहाँ पनि हुने गर्छ तर अवैधानिक रूपमा ।

मकवानपुर–२ का प्रतिनिधिसभा सदस्य एवं निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले पटक पटक संसद्मा गाँजाको विषय उठाइरहँदा राहत महसुस गर्ने कैलाश र राक्सिराङ गाउँपालिकाका बासिन्दा गाँजा खेती खुला भैदेओस् भन्ने चाहन्छन् । थाइल्याण्डमा गाँजामार्फत आर्थिक समृद्धिको नारा दिएर सरकारले नै २० हजार बिरुवा वितरण गरेको छ ।

तर, हजारौँ थान गाँजाका बिरुवा आफैँ उत्पादन गर्ने नेपाली किसानहरु अहिले गाँजाको बीउ राख्ने समय शुरु हुनै लाग्दा, सरकारले गाँजा खेती खुला गर्ला कि भनेर आशावादी छन् ।  संयुक्त राष्ट्रसंघले पनि गाँजालाई औषधीय गुण भएको जडीबुटीको रूपमा परिभाषित गरिदिएको भन्दै गृह मन्त्रालयले अध्ययन थालेको छ ।

नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाअन्तर्गत रहेको लागुऔषध नियन्त्रण शाखाले औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न पाइने गरी कार्यविधि तयारी गरिरहेको बताइन्छ । उक्त कार्यविधिको आधारमा मन्त्रिपरिषद्सँग सहमति मागेर विधेयक बनाउन सक्ने र संसद्बाट पारित भएमा गाँजा खेतीले बैधानिकता पाउन सक्नेछ ।

नेपालमा गाँजाले कानुनी मान्यता पाएमा आर्थिक समृद्धिको ढोका खुल्ने पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ, निवर्तमान स्वास्थ्यमन्त्री खतिवडा र बागमती प्रदेशका निवर्तमान सांसद केशव स्थापितलगायतको तर्क छ । स्थानीय सरकार पनि गाँजाबाट समृद्धि सम्भव भएकोमा एकमत छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल लागूऔषध दुव्र्यसनको हिसाबले गाँजाले समाजलाई असर पु¥याएको भए पनि आर्थिक हिसाबले ठूलो टेवा दिन सक्ने बताउँछन् । उनले आगामी आर्थिक वर्ष २०७९/८० का लागि भर्खरै पालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि गाँजाको खुला खेतीका लागि राष्ट्रिय रूपमा बहस चलाउने उल्लेख गरेका छन् ।

‘गाँजालाई बैधानिक बनाउन सकेमा हाम्रो गाउँपालिकाका धेरै युवा जेलमा जानुपर्नेछैन’, अध्यक्ष मल्लले भने– ‘थाइल्याण्डमा झैँ गाँजा खुला गर्न सकेमा जनताले ठूलो राहत पाउने आशा गर्न सकिन्छ ।’ उनका अनुसार राक्सिराङ गाउँपालिकाभित्रका मात्रै झण्डै ३ सयभन्दा बढी युवा गाँजाकै कारण जेलमा छन् । मकवानपुरमा गाँजा नियन्त्रणका लागि हरेक वर्ष बिरुवा नष्ट गर्ने गरिए पनि खेती रोकिएको छैन ।

तर, प्रहरीले कडाइ गर्न थालेपछि ओसारपसारमा कमी आएको देखिन्छ । त्यसो हुँदा घर घरमा रहेका गाँजा किन्न व्यापारी आउन छाडेको र आर्थिक मन्दी बढेको किसानको भनाइ छ ।

टिप्पणीहरू