४४ करोड आएपछि गाउँसभामै के ल्याइदिउँ कोशेली
गाउँपालिकामा बिजुली छैन । स्वास्थ्य संस्थामा सोलारले काम नगर्दा मैनबत्ती बालेर सुत्केरी हुनुपर्ने अवस्था छ । गाउँघर क्लिनिकमा सिटामोल नपाएको समाचार आइरहेका छन् ।
बिरामी परेकाहरूले एम्बुलेन्स नपाउँदा एक दिन हिँडेर उपचार गर्न जानु पर्ने बाध्यता छ तर गाउँपालिका अध्यक्षले ४४ करोडको बजेट आएको खुशीयाली मनाउँदै गाउँसभामै ‘आँधी खोलामा…, आँधी खोलामा… के ल्याइदिऊँ कोसेली भिर्ने झोलामा’ भन्दै नाचगान गरेको भेटिएको छ ।
यो कथा बैतडी, सिगास गाउँपालिकाको हो । असार १० गते शुक्रबारका दिन, अध्यक्ष हरिसिंह धामीले ०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, सडक र बिजुलीका लागि ४४ करोड ५० लाख २२ हजारको बजेट सार्वजनिक गरेका थिए । धामी दोश्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि हुन् ।
पाँच वर्षमा उनले विद्युतीकरण गर्ने भन्दै पाँच करोड खर्च गरे पनि गाउँपालिकामा बिजुली बलेको छैन । १ र २ नम्बर वडामा गाडेका बिजुलीका पोल र तार बेवारिस छन् । बिजुली नबले पनि गाउँपालिकाले भने भुक्तानी गरिसकेको पाइएको छ । दलका कार्यकर्ताको अगुवाइमा उपभोक्ता समिति गठन गर्दा पोल घरको पिल्लर बनाउन प्रयोग भएकोसमेत भेटिएको छ ।
तार बेचेर जनप्रतिनिधि र उभोक्ता समितिका अध्यक्षले राँगाको पैसा तिरेको तर काम गर्ने मजदुरको पैसा नदिएको समाचार यसअघि नै आइसकेको हो । सिगासको वडा नम्बर १ मा मात्रै डेढ करोड खर्च गरेर पनि बिजुली बलेको छैन । समितिका अध्यक्षले भने भुक्तानी पाइसकेका छन् ।पाँच वर्षमा पूरा नभएका काम पूरा गर्न दिनुहोस् भन्दै पुनः मत मागेर निर्वाचित भएका धामीले दोश्रो कार्यकालको पहिलो बजेट सार्वजनिक भएकै दिन गाउँसभाको हलमै ‘भिर्ने झोलामा !’
गीत बजाएर नाचगान गरेको भिडियो सामाजिक सञ्जालमा देखेपछि सिगासका मतदाता जिल्ल परेका छन् । अध्यक्ष धामीसहितका जनप्रतिनिधि र कर्मचारीले गाउँसभामा ‘भिर्ने झोलामा !’ नाचगान गर्दै गरेको भिडियो अरु कसैले खिचेर सार्वजनिक गरेको भने उक्त भिडियो गाउँपालिका अध्यक्षको सचिवालयले नै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको हो ।
गाउँसभामा नाच्दै गरेको दृश्य देखेपछि फेसबुकमा प्रतिक्रिया दिँदै लोकेन्द्रजीले लेखेका छन्– ‘हाम्रो सिगासका आधारभूत समस्याहरू के हुन् भनी पहिचान नै नगरी नीति तथा कार्यक्रम बनाइएछ, बधाई छ ।
सिगासका मुख्य समस्याहरू :
१) जातका आधारमा हुने आर्थिक, सामाजिक तथा साँस्कृतिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रको विभेद,
२) पितृसत्ता (महिलामाथि हुने हिंसा र महिला पिछडिनुको मुख्य कारण
३) बेरोजगारीका कारण उत्पादनशील जनशक्ति बिदेसिनु
४) गुणस्तरीय शिक्षाको अभाव
५) यतायात
६) सञ्चार
६) विद्युत्
७) स्वास्थ्य हुन् ।
उनी अगाडि लेख्छन्, ‘द्यद्यक् मनिवाला बाउको बिग्रेका सन्तानहरूलाई चाहिँ छात्रवृत्ति रे ! जसले एकजोडी स्कुल, ड्रेस, कापी, किताब, कलम किन्न नसकी आधारभूत शिक्षाबाट पनि बन्चित भएको छ । स्थानीय सरकारको नजरमा पर्दैन । के साह्रो अन्धो भएको हो स्थानीय सरकार ?’ जनप्रतिनिधिको यस्तो चर्तिकला देखेर अर्का युवा गणेश संगम साउदले लेखेका छन्– ‘बौलाउन लागे कि क्या हो !’ माइक्रोइस्कोप कुनै विद्यालयमा छैन । अनि के सिक्ने, के सिकाउने ? स्वास्थ्य, कृषिमा पनि त्यही हो ।
टिप्पणीहरू