विनोद हत्याको आरोपीलाई नसमातेपछि यातायात ठप्प
अछामको पञ्चदेवल विनायक नगरपालिका–४, कालिकास्थानका १६ वर्षीय मृतक विनोद शाहीका आरोपीलाई पक्राउ नगरेको विरोधमा पाँच दलले सवारी साधन बन्द गरेका छन् । घटना घटेको महिनादिन बितिसक्दा पनि प्रहरीले आरोपी पक्राउ गर्न नसकेपछि आज र भोलि यातायात ठप्प पारिएको हो ।
नेकपा एमालेका जिल्ला कमिटी सचिव भीम रावल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य शिव बोगटी, नेकपा एकीकृत समितिका जिल्ला कमिटी सचिवालय सदस्य बमबहादुर रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला कमिटी सदस्य दिपक विष्ट र नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै सोबारे जानकारी गराएका हुन् ।
शक्ति र सत्ताको आडमा दोषीले उन्मुक्ति नपाओस् भन्दै आज र भोलि सार्वजनिक सवारी साधन पूर्णरूपमा बन्द गर्न बाध्य भएको पाँच दलले बताएका छन् । पीडित परिवारले हत्याकाण्डमा संलग्न सबैलाई हिरासतमा लिन, दोषीलाई उन्मुक्ति नदिन, स्वतन्त्रपूर्वक निष्पक्ष रुपमा सत्यतथ्यसहित छानबिन गर्न माग गर्दा पनि बेवास्ता गरिएकाले सार्वजनिक सवारी साधन बन्द गर्न परेको उनीहरुको दाबी छ ।
शाहीको हत्यामा संलग्न योजनाकारको नामसहित पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, अछाममा किटानी जाहेरी दिइसकेका छन् । तर, पाँच जनाबाहेक प्रहरीले अन्यलाई पक्राउ गरेको छैन ।
टिप्पणीहरू