माओवादीमा पनि उठ्यो अन्तर्घातका कुरा
स्थानीय चुनावमा अनपेक्षित परिणाम आउनुमा पार्टीभित्रको अन्तर्घात मुख्य कारण रहेको भन्दै आन्तरिक विवादमा फसेको नेकपा एमालेमा जस्तै सत्तारुढ माओवादी केन्द्रमा पनि सोही विषय उठेको छ । तुलनात्मक रुपमा निर्वाचन परिणामले उत्साहित् भएको भनिएको माओवादी केन्द्रले गठबन्धन र अन्तर्घातले दोस्रो पार्टी हुने लक्ष्य सफल नभएको निष्कर्ष निकालेको हो ।
आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्घात र गठबन्धनका कारण अपेक्षाकृत नतिजा नआउँदा ५० सिट घाटा लागेको हिसाब सुनाउनुभयो । १५० देखि १७५ को बीचमा पालिकाको नेतृत्व जित्ने अपेक्षा लिए पनि पार्टीभित्रको अन्तर्घात र गठबन्धनका दलहरुको असहयोगले सफल हुन नसकेको प्रचण्डको भनाइ छ ।
माओवादीलाई हराउन कतिपय ठाउँमा गठबन्धनकै दलहरुले तालमेल गरेको र गठबन्धन भएका कतिपय ठाउँमा पनि काँग्रेसले सोचेजस्तो सहयोग नगरेको प्रचण्डले बताउनुभयो । रुकुम, रोल्पा, कालीकोटजस्ता माओवादी बलियो भएका जिल्लामा अरु दल एकातिर र माओवादी एक्लै अर्कोतिर हुँदा पनि परिणाम आफ्नो पक्षमा आएको भन्दै उहाँले आफ्नै खुट्टामा उभिएर चुनावमा जाने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड गर्नुभएको छ ।
चुनावमा पार्टी तेस्रो स्थानमा रहे पनि मत भने सुधारिएर आएकाले आगामी चुनावमा दोस्रो हुने सम्भावना रहेको प्रचण्डको भनाइ छ । अहिले भएका कमजोरीलाई सुधारेर आगामी निर्वाचनमा कम्युनिस्टहरूमा पहिलो नम्बरमा आउन सकिने उहाँको विश्वास छ ।
बैठकअघि अध्यक्ष प्रचण्डले यसअघि शपथ ग्रहण गर्न छुटेका निर्वाचित तथा मनोनीत केन्द्रिय सदस्यहरूलाई शपथ ग्रहण समेत गराउनुभएको थियो । बैठकमा स्थानीय तहको निर्वाचन समीक्षा, आगामी निर्वाचनको रणनीतिबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
टिप्पणीहरू