थपलियाले चुनाव कात्तिक मसान्तमा भनेपछि प्रधानमन्त्रीले भन्नुभयो- लेखेर ल्याउनुस्

थपलियाले चुनाव कात्तिक मसान्तमा भनेपछि प्रधानमन्त्रीले भन्नुभयो- लेखेर ल्याउनुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगले उपयुक्त ठानेको मितिमा चुनाव गर्न सरकार तयार रहेको बताउनुभएको छ । आगामी संसदीय चुनावको तयारीबारे बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासंग अनौपचारिक कुराकानी गर्दै उहाँले संविधान र कानुनमुताविक आयोगले गर्ने प्रस्ताव सरकारका लागि स्वीकार्य हुने धारणा राख्नुभएको हो ।

स्थानीय निर्वाचनको समीक्षा र आगामी संघ तथा प्रादेशिक निर्वाचनको तयारीबारे सरकारलाई जानकारी गराउन प्रमुख निर्वाचन आयुक्त थपलिया अस्ति बालुवाटार पुग्नुभएको थियो । सो क्रममा थपलियाले कात्तिकको मसान्तसम्ममा चुनाव गर्न उपयुक्त हुने अनौपचारिक प्रस्ताव राखेपछि प्रधानमन्त्रीले संविधान र निर्वाचन कानुनअनुसार लिखितरुपमा मिति सिफारिस गर्न आग्रह गर्नुभएको भेटबारे जानकार स्रोतले बताएको छ ।

स्रोतका अनुसार जम्माजम्मी १० मीनेटको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त थपलियाले बाजुराको बूढीगङ्गा गाउँपालिकामा असार २३ गते चुनाव सम्पन्न गरेपछि साउनको पहिलो हप्तासम्म स्थानीय निर्वाचनको रिपोर्ट निकाल्ने र त्यसपछि संसदीय चुनावको तयारीमा लाग्ने जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको थियो । कात्तिकको मसान्तसम्ममा एकै चरणमा गर्ने गरी मिति सिफारिस गर्ने थपलियाको भनाइलाई प्रधानमन्त्री देउवाले ‘ओके’ गर्नुभएको बताइएको छ ।

सो क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी ऐन संशोधनको आवश्यकताबारे सरकारको ध्यानाकर्षण गराउँदै संसद्को चालु अधिवेशनमै विधेयक पेश गर्ने सम्भावनाबारे कुरा राख्दा देउवाले सकारात्मक जवाफ दिनुभएको आयोग स्रोतले बताएको छ । प्रधानमन्त्रीले आवश्यक गृहकार्य गरेर पदाधिकारीसहितको टीमलाई छलफलमा बोलाउनुभएको पनि बताइएको छ ।

स्रोतका अनुसार छलफलका क्रममा इलेक्ट्रोनिक भोटिङ मेसिन (इबिएम)को प्रयोगबारे पनि कुरा भएको थियो । थपलियाले सरकारलाई औपचारिक पत्र लेखेर पठाइसकेको जानकारी गराएपछि प्रधानमन्त्रीले ‘ल ठीक छ,आवश्यक तयारी गर्नुस्’ भन्नुभएको थियो । तर, समयमै मेसिन उपलब्ध गराउन र राजनीतिक दलहरुबीच आम सहमति बनाउन थपलियाले गरेको आग्रहमा प्रधानमन्त्री देउवाले ‘भैहाल्छ नि,लेखेर ल्याउनुस्’ भन्नुभयो ।

अघिल्ला प्रधानमन्त्रीहरु जस्तो टुक्का जोडेर लम्बेतान कुरा गर्ने स्वभाव नभएका देउवाले एक कप चिया सकिँदासम्म कुराकानी सकेर प्रमुख निर्वाचन आयुक्तलाई फेरि भन्नुभयो, ‘सबै लेखेर ल्याउनुस् ।” आयोग स्रोतका अनुसार हिँड्ने बेला प्रधानमन्त्री देउवाले ‘सोमबार या मंगलबार टाइम मिलाउनु,खबर आउँछ’ भन्नुभएको थियो ।

सोहीअनुसार आइतबारसम्म सबै आन्तरिक तयारी सक्ने गरीआयोग जुटेको छ । ‘चुनावको डेटसम्बन्धी प्रधानमन्त्रीको कुनै रिजर्भेसन छ जस्तो लागेन । आयोगले हेरेर सिफारिस गरोस् भन्ने उहाँको राय छ । कात्तिक मसान्त वरपर मिति प्रस्ताव गर्ने गरी आन्तरिक छलफल गरेका छौँ,प्रधानमन्त्रीले बोलाएपछि त्यहिअनुसार जान्छौँ’, प्रधानमन्त्री-थपलिया भेटबारे जानकार आयोगका एक पदाधिकारीले भने ।

टिप्पणीहरू