यार्सागुम्बु पाइने क्षेत्रका एमाले सांसद एकपछि अर्को यौन काण्डमा

यार्सागुम्बु पाइने क्षेत्रका एमाले सांसद एकपछि अर्को यौन काण्डमा

मुगुका सांसद मोहन बानियाँको बलात्कार काण्डको चर्चा सेलाउन नपाउँदै एमालेका अर्का एक नेता परस्त्रीको काखमा लुटपुटिएको भिडियो बाहिरिएको छ । एमाले पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेश सांसद गुलाबजङ्ग शाह र एमालेकै जिल्ला नेतृको अन्तरङ्ग सम्बन्ध झल्किने टिकटक भिडियो सार्वजनिक भएको हो ।

एमाले सल्यान जिल्ला कमिटी सदस्य टिका वलीको आइडीमा अपलोड भएको उक्त भिडियोमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा उनीहरुले सुतेर अभिनय गरेका छन् । भिडियोमा उनीहरु एउटै बेडमा गाला जोडेर पल्टेको देखिन्छ । वलीले शाहको गाला पनि सुम्सुम्याएकी छन् । अहिले त्यो भिडियो टिकटकबाट हटाइसकिएको छ, तर धेरैले डाउनलोड गरेर शेयर गरेका छन् ।

एमाले कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकसमेत रहेका सल्यान प्रदेशसभा (क) बाट निर्वाचित शाह विवाहित हुन् । उनले दोस्रो विवाह गरेपछि जेठी श्रीमती अर्कैसँग हिँडेको बताइन्छ ।

अश्लिल लाग्ने भिडियो सार्वजनिक भएपछि जनआस्थासँगको कुराकानीमा शाहले आफ्नो चरित्रहत्या गर्न सुनियोजित षड्यन्त्र गरिएको दाबी गरेका छन् । आफूले अहिलेसम्म टिकटक नचलाएको र अभिनयसमेत नगरेको उनले बताए । शाहले भने, ‘फेक’ भिडियो बनाएर बाहिर ल्याइयो । चरित्र हत्या गर्ने प्रयास भयो ।

यसबारे कपोलकल्पित समाचार लेख्ने अनलाइनविरुद्ध कानुनी उपचारमा जाने तयारी गरिरहेको समेत उनले बताएका छन् । ‘म संलग्न भएको भिडियो होइन । किन यसरी बाहिर ल्याइयो अचम्म लागेको छ । तर, म आत्तिएको छैन,यस्तो भइरहन्छ’, उनले भने, ‘नेपालका समाचार कस्तो हुन्छ सबैलाई थाहा भएकै कुरा हो । यसबारे सम्बन्धित अनलाइनका सम्पादकसँग कुरा भसकेको छ । उहाँले खण्डन छाप्नुभएन भने कानुनी उपचार खोज्छु ।’

यसअघि एमालेबाट निर्वाचित मुगुका सांसद मोहन बानियाँमाथि जुम्लाकी एक शिक्षिकालाई नेपालगञ्जको होटलमा बोलाएर बलात्कार गरेको अभियोग लागेको थियो । गत माघ १९ गते नेपालगञ्जको होटलमा पैसा लिन बोलाएर बलात्कार गरेको भन्दै माघ २७ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय,बाँकेमा उजुर दिएकी थिइन् ।

फागुन १६ गते सांसद बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परे । तर,जिल्ला अदालत बाँकेले चैत २ गते धरौटीमा रिहा गर्न आदेश दिएपछि अहिले उनी निलम्बित सांसद पद फिर्ता पाएर निस्फिक्रीसँग डुलिरहेका छन् । बानियाँ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा केही समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने विना विभागीय मन्त्री थिए ।

टिप्पणीहरू