फुटपाथ व्यवसायीलाई विस्थापन गर्ने कि व्यवस्थापन ?
राजधानीको बालुवाटारमा अस्तिका दिन नगर प्रहरी र ठेलागाडा व्यापारीवीच रमिता चल्यो । दिउँसोको टन्टलापुर घाममा गाडामा मकै पोलेर बेचिरहेका दम्पत्तिमाथि नगर प्रहरीले गरेको बलजफ्ती देख्नेजतिको मन कुटुक्क खायो । उक्त भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बन्यो । नगर प्रहरीमाथि हज्जारौं नागरिक खनिए ।
भिडियोमा प्रहरीले उनीहरुमाथि हातपात गरेको देखिन्छ । ठेलागाडा उठाउने क्रममा महिलाले हारगुहार गरेर रोक्न खोजेपछि उनलाई लछारपछार गरियो । यता, पुरुषले भने आफ्नो ठेला बचाउन सयौं कोसिस गरे । तर, प्रहरीले ठेला र मकै लगी छाड्यो । नगर प्रहरीको ज्यादति अति नै भएको भन्दै आलोचना गर्नेहरुको ओइरो नै लाग्यो ।
पछिल्ला दिनमा महानगरले सडकमा भीख माग्नसमेत प्रतिबन्ध लगाएको छ । शहर सुन्दर र फराकिलो बनाउने भन्दै महानगरले फुटपाथ व्यवसाय हटाउन खोजेको हो । एकातर्फबाट हेर्ने हो भने यो राम्रो कुरा हो । महानगरको यो निर्णयले बाटो हिंड्ने यात्रीलाई केही हदसम्म राहत हुन्छ ।
तर, शहर सुन्दर पार्ने नाममा गरिबको पेटमा लात हान्नुचाहिँ गलत हो । सडकको छेउमा बसेर धुँवाधुलो खानु रहर होइन,बाध्यता हो भनेर महानगरले बिर्सिएको देखिन्छ । यता,नवनिर्वाचित मेयर बालेन्द्र साहले पनि निवर्तमान मेयर विद्यासुन्दर शाक्यको सिको गर्न थालेको भन्दै औंला उठ्न थालेको छ ।
‘महानगरले सम्झौता गरेको भए पो विकल्प दिने हो’ उनले झोक्किँदै भने । ऐनकानूनमै फुटपाथ व्यापार गैरकानूनी भएको उल्लेख हुँदाहुँदै पनि अटेर गरेकाले बलजफ्ती गर्नुपरेको उनको भनाइ छ ।
सडकको कमाइबाट बिहान,बेलुका गर्जो टार्नेलाई महानगरको यस्तो व्यवहारले सकस पुग्ने गरेको छ । फुटपाथ व्यापारबाट फलिफाप हुने होइन,दुई छाक टर्नेसम्म मात्र हो । तर, महानगरले भोको बस्न बाध्य बनाउन चाहिरहेको छ । सडकको कुनामा बसेर सानो व्यापार गर्न पनि सर्वसाधारणले निर्धक्कसंग पाएका छैनन् ।
जहिले पनि महानगरको त्रासमा बस्नुपर्ने एकजना व्यापारीले बताए । नगर प्रहरी र फुटपाथ व्यापारीवीच सधैं लुकामारी चलिरहेको पाइन्छ । चोरझैं लुकेर व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता उनीहरुलाई छ । नगर प्रहरीबाट हरेक फुटपाथ व्यवसायी त्रसित छन् । कतिखेर आएर सामान लगिदिने हो पत्तो हुँदैन ।
नगर प्रहरीले दुर्व्यवहार गर्ने,सामान फ्याकिदिने र जफत गरिदिनेलगायतका अमानवीय क्रियाकलाप गर्दै आएका छन् । काठमाडौंका सडकमा धनीदेखि गरिब दुवै भेटिन्छन् । तर, नगर प्रहरीले थिचोमिचो गर्ने भनेको गरिबलाई नै हो । महानगरले दिनहुँ दर्जनौं व्यापारीको सामान जफत गर्छ तर उनीहरुको समस्या बुझ्ने प्रयास गर्दैन ।
विपन्नमाथि महानगरको ज्यादतिका घटना दिनहुँ शहरमा भेटिन्छन् । त्यही फुटपाथमा पार्किङमा राखेको सवारी साधनलाई भने महानगरले कारबाही गर्दैन । देखेर पनि अनदेखा हुने गरेको व्यापारीहरुको आरोप छ । समातेप नि पाँच सय रुपैयाँ जरिवाना गरेर छाडिदिन्छ ।
तर, फुटपाथ व्यापारीको सामान जफत गरेपछि फिर्ता दिने चलन छैन । महानगरले कुच्चाएर कबाडीमा बेच्ने गरेको छ । काठमाडौंको बौद्ध, रत्नपार्क,जमल, भोटाहिटी, बानेश्वर, कोटेश्वरलगायत धेरै भीड हुने क्षेत्रमा प्राय:जसो फुटपाथ व्यापारी छन् । साइकल र ठेलागाडा व्यापारी घरघर पुग्छन् ।
शहर सुन्दर बनाउने भन्दैमा रोजीरोटी नै छिन्न त पाइँदैन भन्दै आवाज उठाउन थालिएको छ । सडकमा जीवन गुजारा गर्नेलाई विकल्प खोजिदिए यो समस्या आफै समाधान हुन्छ । निश्चित ठाँउ र समय तोकेर फुटपाथ पसल राख्न दिदाँ व्यवस्थापन गर्नुपर्ने किचलो हट्छ ।
दिनभरिको कमाइले घरखर्च टारौँला भनेर हिंडेकालाई महानगर तनाव दिन्छ । लखेटेर पनि सामान खोस्छ । महानगरले सामान उठाएपछि भोलिदेखि के खाने भन्ने चिन्ता उनीहरुमा छ । सडक खाली नै बनाउने हो भने महानगरले पहिले वैकल्पिक उपायको खोजी गर्नुपर्छ ।
उनीहरुलाई विस्थापन होइन व्यवस्थापन गर्नुपर्छ । होइन भने महानगरले रोजगारीको प्रबन्ध मिलाइदिनुपर्छ । गरिखान पाउनुपर्ने माग फुटपाथ व्यापारीहरुको छ । यता, काठमाडौं महानगरका सहायक सूचना अधिकारी महेश काफ्ले गैरकानूनी काम गर्नेलाई के को विकल्प भन्दै आक्रोशित भए ।
‘महानगरले सम्झौता गरेको भए पो विकल्प दिने हो’ उनले झोक्किँदै भने । ऐनकानूनमै फुटपाथ व्यापार गैरकानूनी भएको उल्लेख हुँदाहुँदै पनि अटेर गरेकाले बलजफ्ती गर्नुपरेको उनको भनाइ छ ।
काठमाडौंले फुटपाथ व्यवस्थापन गर्न दादागिरी देखाइरहँदा ललितपुर महानगरपालिकाले सहजताका साथ उही काम गरिरहेको छ । ललितपुरले समय तोकेर फुटपाथ सञ्चालन गर्न दिने गरेको छ । बढी जाम हुने क्षेत्रमा महानगरले फुटपाथ पसल राख्न निषेध गरेको नगर प्रहरी प्रमुख सीताराम हाथेछुले बताए ।
लगनखेलको बसपार्क हटाएर त्यहाँ व्यापार सञ्चालन गर्न दिने तयारीमा महानगर लागिपरेको उनको भनाइ छ । जथाभावी राखेको ठेलागाडालाई महानगरले जरिवाना तिराउने गरेको छ ।
टिप्पणीहरू