वामदेवको सक्रियतामा जुटेको हात्तिवनको भेट

वामदेवको सक्रियतामा जुटेको हात्तिवनको भेट

विघटित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तत्कालीन पाँच जना सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । तत्कालीन नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच आज सामूहिक भेटघाट भएको हो ।

हात्तीवनस्थित एक अपार्टमेन्टमा भेटवार्ता भएको स्रोतको भनाई छ । माओवादी अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर सार्वजनिक गरेकी हुन् । त्यसक्रममा नेताहरुबीच पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काँग्रेससँगको गठबन्धनबारे छलफल भएको बताइएको छ । नेताहरुबीच यस प्रकारको छलफललाई निरन्तरता दिने समझदारीसमेत बनेको बताइएको छ ।

तत्कालीन नेकपामा अन्तरसंघर्ष चर्किएका बेला नौ जना सचिवालय सदस्यमध्ये उहाँहरु पाँचै जना एक ठाउँमा उभिनुभएको थियो । पछि सर्वोच्च अदालतको फैसलाले नेकपाको एकता भंग गरेर एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि बाध्यात्मक रुपमा तितरबितर भएका नेताहरु लामो समयपछि एकसाथ देखिनुभएको हो ।

अदालतको फैसलापछि प्रचण्ड र नारायणकाजी माओवादीमै सक्रिय हुनुभयो भने माधव र झलनाथले एमालेमा विद्रोह गरेर एकीकृत समाजवादी गठन गर्नुभयो ।

नेकपाको औपचारिक विभाजनपछि तटस्थ रहँदै आउनुभएका वामदेवले पछिल्लो समय एकता अभियानका नाममा पार्टी नै गठन गरेर छलफल चलाइरहनु भएको छ । यसबीच उहाँहरुको भेटघाटलाई राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू