उत्तर कोरिया फेरि रिसायो
संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानको मिलिभगतमा आफूविरुद्ध योजना बुनिएको उत्तर कोरियाले आरोप लगाएको छ । गत साता स्पेनमा भएको उत्तर एटलाण्टिक सन्धि संगठन नेटो शिखर सम्मेलनको क्रममा ती मुलुकहरुले आफूविरुद्ध योजना बुनेको उत्तर कोरियाको भनाइ छ ।
शिखर सम्मेलनको साइडलाइनमा अमेरिका, दक्षिण कोरिया र जापानका नेताहरूबीच भएको संयुक्त बैठकमा उत्तर कोरियाको आणविक चुनौतीको सामना गर्न पारस्परिक सहयोगलाई सुदृढ बनाइने सहमति भएको थियो ।
सोही सहमतिलाई उत्तर कोरियाले आफूलाई लक्षित गर्दै त्रिपक्षीय सैन्य सहयोगमा जोड दिएकोमा आलोचना गरेको हो । उत्तर कोरियाले भनेको छ, ‘उनीहरुको कदमले आफ्नो सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भयो ।’
उत्तर कोरियाले त्रिदेशीय सैन्य सहयोगले आफ्नो सैन्य क्षमता बढाउन बाटो खोलिदिएको ठहर गरेको छ । अब प्योङयाङ हतियार परीक्षणहरूको उत्तेजक दौडमा अघि बढ्ने ती देशको बुझाई हो ।
पछिल्लो परिस्थिति र उत्तर कोरियाको प्रतिक्रियाले कोरियाली प्रायद्वीपमा पुनः अस्थिरता निम्तिने खतरा बढेको बताइन्छ ।
टिप्पणीहरू