बाग्मतीमा खेल्न खोज्दा राजेन्द्र झन् बलियो

बाग्मतीमा खेल्न खोज्दा राजेन्द्र झन् बलियो

सत्ता प्राप्तिका लागि हुने दाउपेच संसदीय राजनीतिको विशेषता नै हो । अझ लोकतान्त्रिक अभ्यासमा परिपक्व भैनसकेको हाम्रोजस्तो मुलुकमा सत्तामा पुग्न र टिक्न यस्ता दाउपेच भइरहन्छन् र त्यसलाई अस्वाभाविक पनि मानिँदैन । पछिल्लो समय बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने विषयले सत्ता गठबन्धनमा उत्पन्न विवादमा राम्रै मनशायले किन नहोस्– प्रमुख प्रतिपक्ष छिर्न खोजेपछि दलहरूका दाउपेच सतहमा देखिन थालेको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको विघटनका कारण संघमा जस्तै एमाले सरकार ढलेपछि कात्तिक ११ गते गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै गर्दा गठबन्धनका दलले कांग्रेस र समाजवादीबीच ६–६ महिना सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको थियो । सोही सहमतिलाई देखाएर सरकारको नेतृत्व फेर्न कांग्रेस र माओवादी केन्द्रले हेटौंडामा हस्ताक्षर अभियान थालेपछि एमालेको चासो बढेको हो ।

तर, एमालेको त्यही चासोका कारण बाग्मतीमा सत्ता गठबन्धन थप बलियो हुने परिस्थिति बनेको छ । हालै बालुवाटारको एउटा भेटघाटमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुख्यमन्त्री पाण्डेलाई ढुक्क भएर काम गर्न भनेपछि बाग्मतीबाट गठबन्धन तोड्ने र समाजवादीलाई नजिक्याउने प्रतिपक्षी एमालेको योजना ठोस आकार नलिँदै फेल हुने भएको हो ।

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता र चार जना संघीय सरकारका मन्त्रीहरूसँगै प्रस्तावित निजगढ विमानस्थलको स्थलगत अवलोकनमा जानुभएका मुख्यमन्त्री पाण्डेले दिउँसो १ बजेतिर हेलिकोप्टरबाट बालुवाटारमा ओर्लनेबित्तिकै सोध्नुभयो, ‘म कहिलेसम्म मुख्यमन्त्री हुने हो, निर्णय के हो ?’ प्रधानमन्त्रीले जवाफ दिनुभयो, ‘केही पनि हुँदैन, अहिले मुख्यमन्त्री फेर्नेबारे कुनै छलफल नै भएको छैन ।’

देउवाको जवाफ आइनसक्दै पाण्डेले प्रचण्ड र माधवलाई पनि त्यहीँ बोलाएर सोध्नुभयो, ‘(प्रचण्डतिर फर्केर) के हो, अध्यक्षज्यू ! तपाईंका मान्छेले त हस्ताक्षर गरेर बसेका छन्, मैले छोड्नुपर्ने हो भने गठबन्धनबाट निर्णय गरेर सजिलो बनाइदिनुप¥यो ।’ प्रचण्डले पनि देउवाले जस्तै सरकार नफेरिनेमा विश्वस्त हुन आग्रह गर्दै भन्नुभयो, ‘हस्ताक्षर गराएर त्यहाँ वाहियात काम गरेका छन् साथीहरूले, मैले त्यसो हुँदैन भनी सम्झाएर पठाएको छु ।’

कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याए सरकार जोगाउन लेखेरै दिनसमेत तयार रहेको केपी ओलीको सन्देश एमालेका केही नेताले मुख्यमन्त्री पाण्डेसम्म पु¥याएको सूचना पाउनुभएका प्रधानमन्त्री देउवा यसैकारण गठबन्धन टुट्न दिन नहुनेमा सचेत हुनुहुन्छ । बाग्मतीको लफडाले गठबन्धन टुट्ने र आफ्नोसमेत पद धरापमा पर्ने बुझ्नुभएका उहाँले मुख्यमन्त्री पाण्डेलाई ‘ढुक्कले काम गर्नुस्, केही पनि हुँदैन’ भन्नु भएको हो ।

टिप्पणीहरू