मुस्ताङमा थ्रीजी जडान, फोरजीको गृहकार्य

मुस्ताङमा थ्रीजी जडान, फोरजीको गृहकार्य

-अमृत बास्कुने

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ताङ्वे र थासाङ गाउँपालिकाको छाक्ताङमा नेपाल टेलिकमले थ्रिजी मोबाइल नेटवर्क विस्तार गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ ताङ्वे र थासाङ गाउँपालिका–२ को छाक्ताङमा नेपाल टेलिकमको मिनि टावर स्थापना गरेर ताङ्वेमा थ्रिजी सेवा विस्तार गरिएको टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले बताउनुभयो । थासाङ गाउँपालिकाको छाक्ताङमा भने साउनको पहिलो हप्ताबाट सेवा विस्तार हुने छ ।

प्रमुख श्रेष्ठले भन्नुभयो, ‘छुसाङसम्म हाम्रो नेटवर्क थियो । त्यहाँदेखि ताङ्वेसम्म साढे ३ किलोमिटर लामो फाइबर र टावरमा आवश्यक पर्ने ब्याट्री प्रदेश सभा सांसद चन्द्रमोहन गौचनको सांसद विकास कोषको बजेटबाट खरिद गरेर जडान कार्य सकिएको हो ।’ उक्त नेटवर्क विस्तारका लागि आवश्यक पर्ने टावर स्थानीय समितिले व्यवस्थापन गरेपछि अन्य सामान टेलिकमले जोडेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सांसद चन्द्रमोहन गौचनको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट विनियोजित तीन लाख रुपैयाँ बजेटबाट वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३, ताङ्वेमा टावर राखेपछि त्यस क्षेत्रका जनताले द्रुत गतिको थ्रीजी.मोबाइल सेवा उपभोग गर्न सहज बनेको उनीहरुको भनाइ छ ।

नेपाल टेलिकमको मिनि टावरका लागि माननीयको संसद विकास कोषको बजेट प्रयोग गरिएको हो । ‘त्यसैले हामीले अन्य सामग्री लगेर टावर निर्माण गरेका हौं,’ प्रमुख सुमनराम श्रेष्ठले भन्नुभयो ।

मुस्ताङका कुल ९६ गाउँमध्ये अधिकांशमा थ्रीजी मोबाइल सेवाको नेटवर्क पुगिसकेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको घ्याकर, थासाङको टुकुचे, छाक्ताङ र ताङ्वेमा उक्त सेवा विस्तारसँगै जिल्लाका दुर्गम भेगका जनतालाई टेलिकम नेटवर्क सुविधा सर्वसुलभ भएको सांसद चन्द्रमोहन गौचनले बताउनुभयो । अब वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ को साङ्तामा थ्रि.जी. मोवाइल नेटवर्क सेवा नपुगेको र निकट भविष्यमा सम्बन्धित निकायहरु सँहको समन्वय र पहलमा साङ्ता गाउँमा मोवाइल नेटवर्क सेवाको पहुँच पुर्याउन आवश्यक स्थानमा टावर निर्माण गर्न आफूले अग्रसरता लिने उक्त गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिनुभयो ।

लेते, जोमसोम, मुक्तिनाथ, स्याङ्बोचे र लोमन्थाङमा फोरजी सञ्चालनमा छ । अन्यत्र पनि फोरजीकै तयारी भइरहेको बताइन्छ । खिङ्गा र मार्फामा फोरजीको टावर बनिसकेकाले आगामी दिनमा फोरजी सेवा विस्तारलाई नै अगाडि बढाइने टेलिकमको योजना छ ।

टिप्पणीहरू