दुबसुको अर्को काण्ड,डा.मन्त्री शिखण्डी,आरजू म्याडम दङ्ग
जापानले सामान्यतयाः नियुक्त भएका विदेशी राजदूतको एग्रिमो दिन ढिलाइ गर्दैन । नेपालको असल दातृ मुलुक भएको नातामा अहिलेसम्म नेपाल सरकारले नियुक्त गरेकालाई तत्काल एग्रिमो पठाउने चलन छ । तर हालै नियुक्त परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल,बेलायतका लागि पूर्वराजदूत तथा एक दशकअघि जापानस्थित नेपाली दूतावासमा कार्यरत उनै दुर्गाबहादुर सुवेदीलाई अहिले जापानले एग्रिमो नपठाएर तड्पाइदिएको छ ।
उनीसँगै नियुक्त अन्य सबै राजदूतको एग्रिमो आइसकेको छ । आएर पनि कतिपय राजदूतहरु कार्यभार सम्हाल्न विभिन्न मुलुकमा पुगिसकेका छन् । केही त्यसतर्फ जाने तरखरमा छन् । मन्त्रालयभित्रैबाट राजदूत नियुक्त सुशील लम्साल,भरत रेग्मी,डोरनाथ अर्याल,तीर्थ वाग्लेको पनि एग्रिमो आइसकेको छ ।
तर शिष्टाचार महापालको जिम्मेवारीमा रहेर रजगज गरिरहेका र बेलायतको महारानीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका दुर्गाबहादुर सुवेदीको बारेमा जापानले चुईंक्कसमेत बोलेको छैन । यसबीच पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानेर हत्या भएकाले जापानमा शोक मनाइएको छ । यसले पनि थप ढिलाइ हुन सक्छ ।
यता जापानले एग्रिमो पठाउन ढिलो गर्ने बुझेपछि दुर्गाबहादुर मन्त्रालयका कर्मचारी संख्याबारे ओएण्ड एम सर्भे गराउने हुटहुटीमा लागेका छन् । उनी आफैंले सर्भे गराउने,दुई दर्जन उपसचिवको संख्या थप्ने र शाखा अधिकृतको पुच्छारतिर रहेका दुई भाइलाई उपसचिव बनाएर मात्र टोकियो जाने योजनामा खटिएका छन् । गत महिना उनले दरबारमार्गमा सरकारी पद र ठेगानाको दुरुपयोग गरेर फिल्मसहितको ककटेल पार्टी त्यही प्रयोजनको निम्ति गराएको भन्नेहरु पनि छन् ।
परराष्ट्रका एक जना उपसचिवले भने,‘मौकामा चौका हान्ने भन्दै दुबसु र भाइहरु २० वटा उपसचिव थप्ने खेतिपातीमा लागेका छन् । आफैं संयोजक भएर भाइहरुको उध्दार गर्ने महान अभियानमा शिष्टाचार महापाल अघि सरेका छन् ।’
हुन तः यसअघिका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आफैँले पनि केही दरबन्दी थप्न खोजेका थिए । तर अहिले भने नयाँ मन्त्री आएपछि दरबन्दी थप्ने काममा जसको शक्ति उसको भक्तिको हिसाबले काम अघि बढाउन खोजिएको हो । ज्ञवालीको प्रस्तावलाई सामान्य प्रशासन मन्त्रालयले अस्वीकार गरेर फिर्ता पठाइदिएको थियो ।
अघिल्लो सरकारको पालामा एमाले उपाध्यक्ष तथा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलकी बुहारीको निम्ति पनि परराष्ट्र मन्त्रालयमा दरबन्दी थप्ने भन्दै राम्रै चलखेल गरिएको थियो । लोकसेवा आयोगका तत्कालीन अध्यक्ष उमेश मैनालीले पनि परराष्ट्रमा रहेकी आफ्नी छोरीको निम्ति दरबन्दी थप्न सहमति दिएकै हुन् । सहमतिपछि छोरीको बढुवा भइसकेको छ ।
विगतमा मन्त्रीले चालेको कदम अहिले सहसचिवस्तरका कर्मचारी दुर्गाबहादुरले अघि बढाउने दुस्साहस गरेको कर्मचारीहरुको भनाइ छ । पछिल्लो एक वर्षको गतिविधि र कार्यको विश्लेषण गर्दै मन्त्रालय स्रोतले भन्यो,‘मन्त्रीले चलाउने शिष्टाचार महापाल देखिएनन् । बरु सरल,सहज र डिफ्याक्टो मन्त्रीको रुपमा शिष्टाचार महापाल देखिए । जबकि अहिले नै परराष्ट्रका कर्मचारी आफैं काम नपाएर त्यत्तिकै बरालिएका छन् ।’
न्यूनतम २० वटा उपसचिव पदको व्यवस्था भएपछि मात्रै दुई भाइको उद्धार हुने भएकाले उनले सोहिबमोजिम फाइल तयार गरेका हुन् । कनिष्ठ शाखा अधिृकत भएकाले १८ जना जनताका छोराछोरीलाई अगाडि नपठाई उनीहरुले चान्स नपाउने भएपछि झापाली सुवेदीले २० पदको कुरो गरेका हुन् । ‘उनको एउटै मात्र उद्देश्य भनेको मन्त्रालय भाँडमा जाओस् तर भाइ कृष्णकुमार सुवेदी र चक्र सुवेदी माथि जाउन् भन्ने पवित्र सोचाइ रहेको,’उनका आलोचकहरुको विश्लेषण छ ।
“अहिले उनी त्यहाँ जान खोज्नु र राजदूत बनाइनुमा बेलायतबाट फर्केलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती डा. आरजु राणाको हिपको अपरेसनको सन्दर्भ पनि जोडिएको छ । “
जापानमा सन् २०११ मा ठूलो भूकम्पपछि सुनामी गएको थियो । त्यसले सर्वत्र त्रास बढाइदियो । जति त्रास बढेपनि अरु सबै राजधानी टोकियोमा नै संघर्ष गरेर बसे । नेपाली दूतावासमा उपप्रमुख भएर बसेका दुर्गाबहादुर भने रातारात दूतावासलाई अलपत्र पारेर ओसाकातिर भागेका थिए ।
त्यो बेला कुनै पनि मुलुकले दूतावास सारेनन् । उनीहरुले जापानको सुनामीबारे नराम्रो बोल्दा पनि बोलेनन् । जापान सरकारले सहयोगको निम्ति सबैलाई आह्वान गर्दा त्यहाँ रहेका नेपालीले जापान सरकार र जनतालाई खानपिनदेखि सबैमा सहयोग पु्र्याए । तर,नेपाल सरकारको प्रतिनिधि भएर बसेका क्षेत्री भने लुसुक्क ओसाका गएर प्रवचन दिन थाले ।
एक दशकअघि नेपाली दूतावासलाई टोकियोबाट उठाएर ओशाका पुर्याएको घटनालाई जापान सरकारले सँधै तीतो घटनाको रुपमा लिएको छ । त्यहाँस्थित दूतावासमा काम गरेर फर्केका त्यसपछिका राजदूत र कर्मचारीले दुर्गाबहादुरको उक्त हर्कतलाई जापान सरकारले नमीठो रुपमा लिएको अनुभव सुनाउने गरेका छन् । कतिपय जापानीले समेत नेपाल दूतावासले ठीक नगरेको भनेर त्यतिबेलै भनेका थिए ।
अहिले त्यहि मुलुकमा क्षेत्री राजदूत बनेर जान खोजेका हुन् । आफूभन्दा वरिष्ठलाई लत्याउँदै उनले राजदूत बन्न गरेको पछिल्लो खेललाई अधिकांश कर्मचारीले ‘अवसरवाद’ भनेका छन् । अहिले उनी त्यहाँ जान खोज्नु र राजदूत बनाइनुमा बेलायतबाट फर्केलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती डा. आरजु राणाको हिपको अपरेसनको सन्दर्भ पनि जोडिएको छ ।
यसअघि उनले आरजुलाई लण्डनमा राजदूत भएको बखत पनि तीन महिना राम्रैसँग पालेका थिए । अब जापानमा पनि हिपको अपरेसन र फलोअपको क्रममा पाल्ने मौका मिल्ने देखिएको छ ।
यता २० दरबन्दी थप गर्ने सम्बन्धमा भाइहरुको लटमा आफूहरु पनि बढुवा हुन पाइने लोभमा परराष्ट्रका शाखा अधिकृतहरु दंग देखिन्छन् । उनीहरुले दुबसुको दरबन्दी थप्ने कार्यको न विरोध न समर्थन भन्दै बरु मौका पाउँदा शिष्टाचार सरको जय भन्न थालेका हुन् ।
तर सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सरकारी कार्यालयमा अनिवार्य १० प्रतिशत दरबन्दी कटौतीको व्यवस्था गरेको छ । बजेटले १० प्रतिशत कर्मचारी कटौती गर्ने,ओएण्ड एम सर्भे नगर्ने भनेको हो । तर क्षेत्री र उनका कनिष्ठ भाइहरु जसरी पनि दरबन्दी थप्ने भन्दै कम्मर कसेर लागेका छन् ।
तर सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सरकारी कार्यालयमा अनिवार्य १० प्रतिशत दरबन्दी कटौतीको व्यवस्था गरेको छ । बजेटले १० प्रतिशत कर्मचारी कटौती गर्ने,ओएण्ड एम सर्भे नगर्ने भनेको हो । तर क्षेत्री र उनका कनिष्ठ भाइहरु जसरी पनि दरबन्दी थप्ने भन्दै कम्मर कसेर लागेका छन् । दरबन्दी थपिए उपसचिव हुन पाइने लाइनका कृष्णकुमार अर्थात कृसु सुवेदी मन्त्रीको पिए छन् ।
टिप्पणीहरू