माओवादी पीडित सैनिक परिवारको अहिले जङ्गी अड्डामा भेला
एक दशक लामो माओवादी सशस्त्र द्वन्द्वताका माओवादीबाट पीडित सैनिक परिवारले आज राजधानीमा भेला बोलाएका छन् । उनीहरुको भेला बिहान ११ बजे हुन लागेको हो ।
द्वन्द्वताकाको घाउ पुर्दै शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न सरकार,माओवादी र सेना तयार भएको सन्देश दिने क्रममा यो भेला डाकिएको हो । त्यस्तै सन्देशस्वरुप अस्ति दिउँसो कानुनमन्त्री गोविन्दप्रसाद शर्मा बन्दीसँग प्रधानसेनापति प्रभुराम शर्माले मन्त्रालयमा पुगेर भेट गर्नुभएको थियो ।
आज त्यसैको सेरोफेरोमा सेनातर्फका माओवादी पीडितहरुको भेला बोलाइएको हो । सेनाले वर्षको एक पटक त्यस्ता पीडित र एकल महिलालाई विशेष कार्यक्रममार्फत सहयोग गर्दै आइरहेको बताइन्छ । द्वन्द्वकालमा माओवादीबाट मारिएकाहरुको नाम उल्लेख गरेर संग्रहालयको पछिल्तिर एउटा सम्झनास्थल पनि बनाइएको छ । त्यसरी आयोजित वार्षिक कार्यक्रममा महिलाहरुलाई विभिन्न सामग्रीसमेत प्रदान गर्ने गरिएको छ ।
तर आज बिहानको भेला पीडितहरुले नै बोलाएको सैनिक स्रोतले बताएको छ । सरकार र सेनाले पीडितहरुको पुनर्स्थापना र दीर्घकालीन शान्तिसम्बन्धी एउटा प्रतिवेदन बनाउँदै गरेको बेला हुन लागेको उक्त भेलाले विशेष अर्थ राख्ने स्रोतको दाबी छ । उनले भने, ‘त्यसमा आफ्नो धारणा सेनामार्फत राख्न पीडितहरुले भेला बोलाएको हुनसक्छ ।’
अर्कोतर्फ एक दशकसम्म राज्यबाट पीडित माओवादी र माओवादीबाट पीडितहरुको अहिलेसम्म आधिकारिक तथ्याङ्कले अन्तिम रुप पाइसकेको छैन । यसबीच कानुनमन्त्री बन्दीले सात वटै प्रदेशमा पीडितहरुसँग भेला र भेटघाट गरिसक्नु भएको छ ।
आजको भेलामा माओवादी पीडित सबैलाई बोलाइएको बुझिएको छ । सेनाका पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यातको सँयोजनमा भेला आयोजना गरिएको हो । उनैले सबैलाई निम्तो दिएको बताइन्छ ।
टिप्पणीहरू