यसकारण सोल्टी पछाडिको भीड तितरबितर
दैनिक पन्ध्र सयदेखि दुई हजारसम्म सेवाग्राहीको भीडभाड, अत्यासलाग्दो ठेलमठेलले दुई महिना अघिसम्म अस्तव्यस्त वैदेशिक रोजगार विभाग रहेको ताहाचल पछिल्लो समय शान्त देखिन्छ । कार्यालयले आफ्नो सेवा प्रवाहलाई अनलाइन प्रणालीमा लगेसँगै त्यहाँको अवस्था फेरिएको हो । अहिले न सेवाग्राहीको भीडभाड छ, न ठेलमठेल ।
आखिर यो सबै कसरी सम्भव भयो होला ? सेवा प्रवाहको क्षेत्रमा यो ऐतिहासिक सफलता युवा तथा उत्साही कार्यालय प्रमुख रमेश अर्याल र उनको टीमले सम्भव बनाएको दाबी गरिएको छ । विगतमा पनि अनलाइन प्रणालीमा कार्यालयलाई रुपान्तरण गर्ने भनेर हरेक श्रममन्त्रीले घोषणा गर्थे । कार्यालय प्रमुखहरु ‘डिजिटाइजेशन’मा अभ्यस्त नहुँदा त्यस्ता घोषणा कागजमै सीमित भइरहेका थिए । तर, रमेशले कार्यालय सम्हालेलगत्तै अनलाइन सेवाको सुरुवातपछि सेवा प्रवाह दुरुस्त हुनुका साथै भीडभाडको पनि अन्त्य भएको देखिन्छ ।
पछिल्लो अवस्थाले श्रम स्वीकृति लिन सर्वसाधारण नागरिक दूरदराजबाट काठमाडौँ आएर हप्तौँ बस्नुपर्ने बाध्यता हटेको छ । सोल्टीमोडदेखि ताहाचलसम्मको लामो लाइन र त्यसले निम्त्याउने भीडभाडको पनि अन्त्य भएको छ । बिचौलियाहरुबाटसमेत सेवाग्राहीले मुक्ति पाएका छन् ।
त्यतिमात्र होइन, सेवाग्राहीले कुनै कागजात छुटाएको खण्डमा पनि कार्यालयको हटलाइन टेलिफोन नम्बर ५३००६६७ मा फोन गरेर आवश्यक जानकारी लिने र डकुमेण्ट समावेश गरी पठाउन सक्ने सहज व्यवस्था गरिदिएको बताइन्छ । शुक्रवार जनआस्था प्रतिनिधि कार्यालय पुग्दा हटलाइनमा दुई जना सेवाग्राहीले पासवर्ड रिसेट गरिदिन कर्मचारीलाई फोनमा अनुरोध गर्दै थिए । सिस्टममा विवरण इन्ट्री गर्दा यदाकदा गलत शब्द परेको खण्डमा त्यसलाई सच्चाउन अनुरोध गरिन्छ । गन्तव्य देशको कम्पनीको नाम भर्दा छुटेको हुन्छ । त्यसका लागि आइटीको नम्बर पनि उपलब्ध गराइएको छ ।
यसरी सेवा प्रवाह पूरै डिजिटलाइजेशन भएपछि देशभरका सेवाग्राहीले राहत पाएका छन् । यसबाट इच्छाशक्ति भएको नेतृत्व पाउँदा सरकारी अड्डामा पनि ‘क्रान्तिकारी’ सुधार हुँदो रहेछ भन्ने गतिलो उदाहरण बनेको छ वैदेशिक रोजगार विभाग ।
टिप्पणीहरू