सशस्त्रमा भोजनको छुट्टै संसार

सशस्त्रमा भोजनको छुट्टै संसार

सीमा सुरक्षाको मुख्य जिम्मेवारी निर्वाह गर्न स्थापित सशस्त्र प्रहरी बलका एकजना एसएसपी प्रमोद साहको दैनिकी र जागिर भने नितान्त फरक छ । उनी ३ वर्षभन्दा बढी समयदेखि सशस्त्र मुख्यालयको सवारी हेर्ने जिम्मेवारीमा रहेर बिदा बसेका प्रहरीको रासन खाइदिने, कुनै महिला प्रहरीलाई असीमित समय बिदा छाडिदिने र अरु पुरुषलाई दिनको दुई पटकसम्म पिटी/परेड खेलाउने, कोसेलीपात माग्ने र दिनेलाई बिदा छाड्ने, नदिनेलाई दुःख दिने आदि कामहरू गरेर बिना सजायँँ जागिर धानिरहेका छन् ।

यति मात्र होइन खरिददेखि मर्मतसम्भार र बेचबिखनमासमेत भूमिका निर्वाह गर्ने उनले १ वर्षजति अघि गाडीका पार्टपुर्जालगायत सामान सतुंगलस्थित कार्यालयमा लगेको भनी बीचमै बेचेर करोडजति खाएका थिए । यस सम्बन्धमा लोहनी थरका हाकिमको संयोजकत्वमा छानबिन समिति गठन गरी प्रतिवेदन कानुन शाखामा बुझाइए पनि हालसम्म कुनै कारबाही भएको छैन ।

उनी मातहत ६ दर्जन बढी प्राविधिक कार्यरत छन् । यसमध्ये दिनहुँ १० जनाभन्दा बढीलाई बिदा छाडिएको हुन्छ । दिनको १० जनाको हिसाबले मासिक ३०० र एकपटकमा ५ दिन बिदा छाड्दा १५०० दिनको राशन एसपी प्रमोदले लाभस्वरूप प्राप्त गर्दछन् । दैनिक २०० का दरले मात्र हिसाब गर्दा पनि मासिक ३ लाख रूपैयाँ त बिदा छाडेवापत मात्र हात पर्दछ । त्यसमाथि बिदा छाडिदिएका प्रहरीहरूले ल्याउने कोशेलीपातको बेग्लै हिसाब आउँछ ।

यता हप्तामा ५ छाक मासु खुवाउनुपर्ने नियमसहित सरकारले राशनभत्ता उपलब्ध गराएको छ । तर प्रमोदले एक छाक राम्रो मासु ल्याएर खुवाए भने ४ छाकचाहिँ ब्वाइलर कुखुराका खुट्टा, कलेजो, घाँटी, टाउको आदि ल्याउने गरेका छन् । किलोको रु. ४०० भन्दा बढीको हिसाब देखाएर १०० रूपैयाँ पनि नपर्ने खुट्टा, टाउको र कलेजो किनी मासिक अरु कमाउने गरेका छन् । हालै युएन मिसनबाट फर्किएकाहरूसँग प्रमोद, कुइँकेल र असई भीम बस्नेतले रक्सी मागेर हैरान बनाएका छन् ।

सशस्त्र मुख्यालयले छानबिन गरे पनि सहजै पत्ता लाग्दछ– एकजना सिपाही वर्षौंदेखि आक्कलझुक्कल हाजिर गर्न मात्र देखापरेर जागिर खाइरहेको छ । बडुवाल थरकी प्रहरी पनि महिनौंसम्म कार्यालयमा देखिन्नन्, हरेक महिना कममा पनि १० दिन त घरतिरै हुन्छिन् । प्रमोदले निलम खड्कामार्फत कमसल खाना खुवाएर राशनवापतको रकम बचाई लाखौं कमाउने गरेका हुन् । प्रमोदले आफ्नै कार्यकक्षमा बोलाई यत्रो मिसनबाट आएका छौं, यसो बोतलको व्यवस्था गर्नुपर्दैन भन्दै रक्सी मागेको समेत गुनासो छ ।

मूलपानीतिर गाँजका विशेष सौखिन कुइँकेल थरका एक सईले त घरमा व्यहोर्नुपरेका खराब व्यवहारको रिस सशस्त्र मुख्यालयमा आई मातहतका कर्मचारीमाथि पोख्ने गरेका छन् । पिटी/परेडमा गोरुलाई झैं पेलाउँदा तीनजना बिमारी भई औषधी सेवन गरिरहेका छन् । नयाँ आइजी राजु अर्यालले न्याय दिलाउँछन् कि भनी पीडित प्रहरीहरू आशावादी रहेका छन् ।

टिप्पणीहरू