प्रचण्डको घरबेटीको विरोध गर्दै सडकमा टेबुलकुर्सी

प्रचण्डको घरबेटीको विरोध गर्दै सडकमा टेबुलकुर्सी

पछिल्लो आठ वर्षदेखि सडक विस्तार कार्यलाई अलपत्र पारेर स्थानीयलाई सास्ती दिने काम भएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ कार्यालयले सडकबाटै सेवाग्राहीलाई सेवा दिन थालेको छ ।

लामो समयदेखि सडक निर्माणलाई अलपत्र पारेर छाडिएको विरोधमा कार्यालयले सडकमै कार्यालय स्थापना गरेर सेवा दिएको हो ।

वडाध्यक्ष धनबहादुर लामासहित वडा सदस्य हरिप्रसाद लामिछाने, आरती लामालगायत सबैले एकजुट भएर सडकबाट सेवा दिन थालेको बताइन्छ । सडकमा कुर्सी, टेबल र कागजात राखेर त्यहीँबाट काम सञ्चालन गरिएको हो ।

भक्तपुर–नगरकोट सडक खण्ड तत्काल निर्माण हुनुपर्ने वडाध्यक्ष लामाको भनाइ छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने भनिएको सडक आठ वर्षदेखि जीर्ण अवस्थामा छ । सडक पूर्ण तवरले निर्माणको ग्यारेन्टी नभएसम्म कार्यालय सडकमै राखिने उनको दाबी छ ।

‘यो सांकेतिक विरोध मात्र हो । यो क्षेत्रको सडक निर्माण नहुँदा आमनागरिकले धेरै सास्ती भोग्नुपरेको गुनासो आएपछि बाध्य भएर विरोधको नयाँ शैली अपनाएक हौं,’ अध्यक्षले भने । सडक जतिसक्दो छिटो निर्माण हुनुपर्ने वा ठेकेदारसँगको सम्झौता रद्ध हुनुनर्पे वडाध्यक्ष उनको जोड छ ।

सरकारले भक्तपुर–नगरकोट सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो । २०७१ जेठ २२ गते सम्झौता भए पनि अहिलेसम्म सडक निर्माण सम्पन्न गर्न सकेको छैन । उक्त कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन् ।

टिप्पणीहरू