राष्ट्रपति परिवारसहित मुलुकबाट भाग्ने योजनामा, जहाज कुर्दै विमानस्थल नजिकै
श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्ष देश छाडेर भाग्ने मनस्थितिमा रहेको समाचार बाहिरिएको हो । आज श्रीलंकाको अध्यागमन कार्यालयले अवरोध गरेपछि टापुबाट भाग्न नौसेनाको गस्ती जहाज प्रयोग गर्न लागिएको समाचार संस्था एएफपीले जनाएको छ ।
विमानस्थलमा अध्यागमनका अधिकारीले उनको राहदानीमा छाप लगाउन अस्वीकार गरेका हुन् ।
देशमा हालसम्मकै खराब आर्थिक संकट आउनुमा उनको प्रमुख भूमिका रहेको भन्दै उनीविरुद्ध व्यापक प्रदर्शन भइरहेको छ । प्रदर्शनपछि ७३ वर्षीय गोटाबाय राष्ट्रपति निवास छाडेर गत साता अज्ञातस्थलतर्फ भागेका थिए ।
उनले गिरफ्तारको सट्टा राष्ट्रपतिकै हैसियतमा परिवारसहित भाग्न चाहेको बताइएको छ । राष्ट्रपति र उनकी श्रीमतीले संयुक्त अरब इमिरेट्सतर्फ जाने चार वटा उडान छुटेपछि बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको सैन्य आधारमा रात बिताएका हुन् ।
उनले भोलि राष्ट्रपति पदबाट राजीनामा दिएर शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरणको मार्ग प्रशस्त गर्ने वाचा यसअघि नै दिएका थिए ।
टिप्पणीहरू