५० वर्षीया आमा भन्छिन् ‘श्रीलंकामा ज्यान पाल्नै मुश्किल भयो’
‘श्रीलंका जीवन र मृत्युको डिलमा झुन्डिएको छ । न जागिर छ, न खानेकुरा किन्ने पैसा । देश बाहिर निस्कने कुनै बाटो नै छैन,’ श्रीलंकाको राजधानी कोलम्बोबाहिर बस्दै आएकी ५० वर्षीया एकल आमा शान्थिले भनिन् ।
कोलम्बोस्थित राष्ट्रपति भवनमा हजारौं सर्वसाधारणले आक्रमण गरेपछि राष्ट्रपति गोटाबाया राजपाक्षले राजीनामा दिने बताएका छन् । ५० वर्षीया एकल आमाका छोराछोरीहरू शासकविरूद्ध सडक आन्दोलनमा निस्किएका छन् । उनी आफैँ पनि प्रदर्शनमा सामेल भएको बताउँछिन् ।
‘हामीलाई निद्रा लाग्दैन । यो मेरो जीवनको सबैभन्दा खराब समय हो । अब त मैले भाडा पनि तिर्न सक्दिनँ,’ उनै शान्थिले सञ्चारमाध्यमका प्रतिनिधिहरुसँग भनिन् ।
श्रीलंकामा आर्थिक संकट गहिरिँदो छ । जताततै मुश्किलको जीवन छ । सर्वसाधारण तनाव झेलिरहेका छन् । उनीहरुले जीवन कहालीलाग्दो भएको बताएका छन् । भविष्य अँध्यारो छ । तर आफ्ना तीन सन्तान हुर्काउने प्रयासमा खटिरहेकी छिन शान्थि । लाखौं श्रीलंकाली जस्तै उनी पनि आफ्नो भविष्यबारे थप चिन्तित बनेकी हुन् ।
‘छोराले विदेश गएर काम गरोस् भन्ने चाहना थियो । तर राहदानी पनि पाएको छैन । सरकारी संयन्त्रले काम गर्न छाडेको छ । छोराले मोटर मेकानिकल पढेको छ, जागिर छैन । जागिरका लागि सबै प्रयास गरियो तर कोही पनि जागिर दिन तयार भएनन् । जेठी छोरीले भाग्यले जागिर पाइन् तर पारिश्रमिक निकै कम छ,’ शान्थिले भनिन् ।
हाइस्कुलमा पढिरहेकी कान्छी छोरीको भविष्यबारे उनी थप चिन्तित छिन् । श्रीलंकामा सबै विद्यालय र सामाजिक संस्थाहरु बन्द छन् । पेट्रोलियम पदार्थको अभाव छ । उनकी कान्छी छोरी दश किलोमिटर हिँडेर हप्तामा दुईपटक ट्युसन पढ्न बाध्य छिन् ।
श्रीलंकाको आर्थिक र राजनीतिक संकटपछि सार्वजनिक यातायात बन्द छ । घरमा पढ्न इन्टरनेट र भरपर्दो बिजुली छैन । आर्थिक मन्दीले इन्धन र खाद्यान्नको तीव्र अभाव निम्त्याएको छ ।
कोलम्बो नजिकै भेलाम्पत्यामा बस्ने अटोरिक्सा चालक मोहम्मद जाफरिनले इन्धन नपाएको गुनासो गरेका छन् । चार सन्तानका बुबा उनी परिवारका एकमात्र कमाउने व्यक्ति हुन् । ‘चार दिन लाइनमा बसेपछि मात्रै इन्धन पाइन्छ । ज्यान पाल्नै मुश्किल भइरहेको छ । बच्चाबच्ची पढ्छन् । हुर्काउनै धौ–धौ भयो,’ उनले भने ।
श्रीलंकाको संकटपछि राष्ट्रपति राजपाक्ष सम्पर्कविहीन छन् । मानिसहरू आक्रोशित छन् । राष्ट्रपति भवन कब्जा गर्न हजारौँ किलोमिटर पैदल हिँडेका युवा–युवतीहरू कोलम्बो आइपुगेका छन् ।
महिनौदेखिको आन्दोलन जारी रहे पनि हजारौं सर्वसाधारण शनिबार मात्रै दरबारभित्र छिरेका हुन् । आक्रोशित भीडलाई राष्ट्रपति भवनमा हावी हुनबाट रोक्न सैनिक समूहले फायरिङ गरे पनि प्रदर्शनकारी अन्ततः दरबारभित्र पस्न सफल भए । क्रोधित आन्दोलनकारीले संरचना तोड्दै आगजनी गरेको स्थानीय प्रत्यक्षदर्शीले बताए । प्रदर्शनकारीले राष्ट्रपति दरबारको जिम, स्वीमिङ पुल र भान्छाको प्रयोग गरेका अनेकौं भिडियो बाहिरिएका छन् ।
राष्ट्रपति राजपक्षे परिवारसहित दरबारबाट बेपत्ता छन् । उनको अवस्था अज्ञात छ । राष्ट्रपति भवनबाहेक प्रधानमन्त्रीको निजी निवास र राष्ट्रपतिको सचिवालयमा पनि आक्रमण भएको छ ।
स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । ‘शान्ति चाहन्छौं । सुखद जीवन चाहन्छौं । सबैभन्दा महत्वपूर्ण कुरा छोराछोरीले राम्रो जीवन बिताउन चाहन्छन्,’ ५० वर्षीया शान्थिले भनिन् ।
टिप्पणीहरू